खाने कि नखाने?
विश्वासीहरुले जनावरको रगत वा रगत भएको मासु खान मिल्छ कि मिल्दैन?
यो प्रश्न म भारतको ब्याङलोर शहरमा रहेको एक बाइबल कलेजमा अध्ययन गर्दैगर्दा उब्जिएको प्रश्न हो। त्यहाँका साथीहरुले, विशेष गरी नागाल्याण्ड र मणिपुर प्रान्तका साथीहरुले, कुनै संकोच नै नमानी रगत (पकाएर) खाने गरेको कुरा पहिलो पटक सुन्दा मलाई सारै अचम्म र अनौठो लागेको थियो।
म आफै पनि हिन्दू हुँदा खाएको भएपनि, इसाई विश्वासमा आएपछि मण्डलीको अगुवाहरूले खान हुन्न भन्ने सुनेको र प्रेरित १५ बाट पढेको हुनाले मैले खान्न थिए। मलाई लाग्थ्यो यो खानु पाप गर्नु हो र यसले परमेश्वरबाट दण्ड निम्त्याउँछ। तर, त्यहाँको त्यो अनुभवले मलाई यस विषयमा अझ गहिरिएर अध्ययन गर्न र वास्तविकता थाहा गर्न बाध्य साथै उत्सुक बनायो।
नेपालको सन्दर्भमा, अहिलेसम्म पनि यदि कोही इसाई विश्वासीहरुलाई यो प्रश्न सोधियो भने प्राय अधिकांशको जवाफ साधारणतया "हुन्न" भन्ने आउँछ। तर, गहन र तार्किक विश्लेषण भने भेटाउन गाह्रो छ।
यस्तो बाइबलीय सन्दर्भहीन सामान्य "हुन्न" मात्र भन्ने जवाफ अहिलेको यो समयमा अपुग र अल्छी देखिन्छ। यति मात्र नभई यस्तो फितलो र खोक्रो जवाफले विश्वासीहरूलाई कहीले काँही परिक्षणको समयमा संकटमा पार्नसक्छ। उनीहरूलाई यस्तो सामान्य विषयले पनि कहिले काँही अनावश्यक विवाद र विभाजन तिर दोहोर्याउन सक्छ।
यसैले, यस विषयलाई निम्न प्रश्नहरूको साथ गहन तरिकाले बाइबलीय सन्दर्भमा बुझ्न जरुरी हुन्छ: के साँच्चै खान हुन्न हो? किन हुन्न? के खानु पाप हो र? के यसले खानेलाई परमेश्वरबाट दण्ड निम्त्याउँछ र? खाँदा के हुन्छ? आउनुहोस् हामी यस विषयलाई हाम्रो बाइबल पल्टाएर पुनः एकपटक नियालौं।
बाइबलमा पहिलो पटक रगत वा रगत भएको मासु नखान परमेश्वरले नोहालाई उत्पति ९ को ३ र ४ पदमा आज्ञा दिनुभएको थियो। चाखलाग्दो कुरा यो छ कि, यस अघि मानिसहरुलाई परमेश्वरले आहाराको रूपमा मासु खाने अनुमति कहिले पनि दिनुभएको थिएन। उनीहरूलाई सागपात वा फलफूल (वनस्पति) मात्र खाने अनुमति दिईएको थियो (उत्पति १:२९-३०; २:१६-१७)। तर, अब उनीहरूले मासु खान सक्थे! रगत वा रगत भएको मासु भने उनीहरुलाई खान अनुमति दिईएको थिएन।
यो आज्ञालाई मोशाको व्यवस्थामा फेरि दोहोर्याएर दिईएको थियो (लेवी ३:१७; ७:२६, २७; १७:१०, १२, १४; १९:२६; ब्यवस्था १२:१६, २३, १५:२३; १ शामूएल १४:३४; इजकिएल ३३;२५)। यसकारण, कुनै पनि यहूदिले रगत वा रगत भएको मासु खाँदैन थिए।
हामीहरू अहिले मण्डली युगमा छौं। हाम्रो विश्वास यहूदी धर्ममा नभई ख्रीष्ट येशूले हाम्रो निम्ति गर्नुभएको काममा आधारित छ। यसैकारण, हामीहरु यहूदिहरू नभई इसाईहरु वा ख्रीष्टियनहरु भनी चिनिन्छौं र बोलाइन्छौं।
मण्डली र मण्डली युग येशू ख्रीष्टको स्वर्गारोहण पछि पवित्र आत्माको आगमन सँगै पेन्तिकोसको दिनमा सुरु भएको थियो (पत्रुस २)। उहाँले (येशू ख्रीष्टले) आफ्नो पहिलो आगमनमा जीवन र मृत्युद्वारा सम्पूर्ण व्यवस्था पूरा गर्नुभई (मत्ति ५:१७, १८; रोमी १०:४; कलसी २:१४), सम्पूर्ण विश्वासीहरूलाई मोशाको कठोर व्यवस्थाबाट स्वतन्त्र तुल्याई आफ्नो नयाँ व्यवस्था दिनुभएको छ (मत्ति ११:२८; गलाती ३:२३-२५; ५:१; ६:२)।
ख्रीष्टको व्यवस्था स्वतन्त्रताले भरिएको छ (२ कोरन्थी ३:१७; गलाती २:४; याकूब १:२५; २:१२)। तर, यो स्वतन्त्रता अरु विश्वासीहरुलाई ठेस नपुग्ने हिसाबले प्रयोग गर्न ख्रीष्ट येशूले आफ्नो प्रेरितहरुद्वारा हामी इसाई विश्वासीहरूलाई आह्वान गर्नुभएको छ (१ कोरन्थी ८:९; गलाती ५:१३; १ पत्रुस २:१६)।
प्रेरित १५ अध्यायले यस विषयमा केही प्रकाश दिन्छ। सुरुको मण्डली यरूशलेममा स्थापना भएको थियो। यस मण्डलीको धेरै विश्वासीहरु यहूदी धर्मबाटका थिए। जब मण्डली वृद्धि विस्तार हुँदै गयो, तब अन्यजातिहरूले पनि ख्रीष्ट येशूलाई ग्रहण गरे र अन्य स्थानमा पनि मण्डलीहरु स्थापना भए। यसैले, विश्वासीहरु मिश्रित (यहूदी र अन्यजाति) भए। तब त्यहाँ विभिन्न सैदान्तिक र व्यावहारिक शिक्षाहरूको आवश्यकता पर्यो। विशेष गरी यस खण्डमा एन्टिओखियामा भएको मण्डलीमा केही यहूदी विश्वासीहरु आएर समस्या निम्त्याईरहेको थियो। उनीहरूले मुक्ति पाउन खतन र मोशाको व्यवस्था पालन गर्नुपर्छ भनी सिकाई रहेका थिए। यसकारण, मण्डली इतिहासमा पहिलो पटक यस विषयको निम्ति छलफल गर्न यरूशलेममा बैठक बसिएको थियो।
यस बैठकमा निकै बहस चलेपछि पत्रुसले खड़ा भएर येशू ख्रीष्टको अनुग्रहमा मात्र सबैले उद्धार पाउने भएकोले विश्वासीहरूलाई व्यवस्थाको बोझ नदिन आह्वान गर्छन् (पढ्नुहोस, प्रेरित १५:७-११)। त्यसपश्चात, याकुबले पत्रुसको प्रस्तावसँग सहमत हुँदै बैठकको फैसला यसरी सुनाउँछन्: "... मेरो फैसला यो छ, कि परमेश्वरतर्फ फर्कने अन्यजातिहरूलाई हामी दुःख नदिऔं, तर तिनीहरूलाई यी कुरा लेखिदिऔं, कि तिनीहरू मूर्तिपूजाको अशुद्धताबाट अलग्ग रहून्, व्यभिचारबाट, घोक्रो अँठ्याएर मारेको पशुको मासु र रगतबाट अलग्ग रहून्" (१५:१९, २०)।
यो बैठकबाट यो प्रष्ट हुन्छ कि मुक्ति खतना वा व्यवस्था पालनबाट होइन तर ख्रीष्ट येशूको अनुग्रहबाट मात्र पाईन्छ; र विश्वासीहरूलाई व्यवस्थाको बोझ बोक्न आवश्यक छैन। तरै पनि मण्डलीमा शान्ति र संगति कायम राख्न केही कमजोर विश्वास भएकाहरुको खातिर आफ्नो स्वतन्त्रतालाई भने केही हदसम्म सीमित राख्नुपर्छ। इसाई विश्वासीहरुलाई रगत वा रगत भएको मासु खान स्वतन्त्रता थियो र छ, तर यहूदी विश्वासीहरूलाई त्यसले ठेस पुग्ने भएकोले यस बैठकमा यी अगुवाहरूले यी चीजहरू नखान आह्वान गरेका थिए। खाएको खण्डमा केही यहूदि विश्वासीहरुसँग सँगति गर्न बाधा पुग्ने र अरु यहूदीहरुलाई पनि सुसमाचार सुनाउन असहज हुनेथियो। यसकारण, यो आज्ञा दिन याकूब बाध्य थिए।
खाने विषयमा इसाईहरुलाई स्वतन्त्रता छ भन्ने कुरा येशू ख्रीष्टको निम्ति शब्दहरुबाट पनि थाहा गर्नसकिन्छ: "जे मुखभित्र पस्तछ, त्यसले मानिसलाई अशुद्ध पार्दैन ..." (मत्ति १५:११)।
यस विषयमा पावलले आफ्नो पत्रहरुमा, विशेष गरी रोमी १४ र १ कोरन्थी ८ र १० मा, धेरै प्रष्ट हुनेगरी लेखेका छन्। यस विषयमा अधिक रुचि हुनेहरूले यी खण्डहरुलाई पढ्न छोड्नु ठूलो नोक्सानी हुनेछ। उनका केही मुख्य शब्दहरू यस्ता छन्:
"म जान्दछु, र प्रभु येशूमा मलाई निश्चय छ, कि कुनै कुरा पनि आफैमा अशुद्ध हुँदैन, तर जसले त्यो अशुद्ध ठान्छ, त्यसको निम्ति त्यो अशुद्धै हुन्छ" (रोमी १४:१४)।
"कसैले सबै थोक खान हुन्छ भनी विश्वास गर्छ, तर विश्वासमा कमजोर हुनेले चाहिँ सागसब्जी मात्र खान्छ। खानेले नखाने मानिसलाई तुच्छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्। किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ। अर्काको चाकरलाई इन्साफ गर्ने तिमी को हौ? त्यो त आफ्नै मालिकको सामु खड़ा हुन्छ वा पतित हुन्छ। त्यो खड़ा गराइनेछ, किनभने, त्यसका मालिकले त्यसलाई खड़ा गराउन सक्छ।"(रोमी १४:२-४)।
"खानेकुराको खातिर परमेश्वरको कामलाई नष्ट नगर। वास्तवमा सबै कुरा शुद्ध छन्, तर आफूले खाएको कुराले अरूलाई बाधा पार्नु अनुचित हो। उचित त यो हुन्छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्छ।" (रोमी १४:२०-२१)।
"“सबै कुरा न्यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्। “सबै कुरा न्यायसङ्गत छन्,” तर सबै कुराले सुधार गर्दैनन्। कसैलाई ठेस लाग्ने काम नगर, चाहे यहूदीलाई होस्, वा ग्रीकलाई होस्, वा परमेश्वरको मण्डलीलाई होस्।"(१ कोरिन्थी १०:२३, ३२)।
"होशियार होऔ, तिमीहरूको यो स्वतन्त्रता दुर्बलहरूका निम्ति ठोकरको कारण नबनोस्।" (१ कोरिन्थी८:९)।
१. मुक्ति व्यवस्था पालनबाट होइन तर ख्रीष्ट येशूको अनुग्रहाद्धारा मात्र आउँछ। यसकारण यसले मुक्ति खोस्दैन!
२. मोशाको व्यवस्था ख्रीष्ट येशू आफैले पूरा गरी नयाँ व्यवस्था दिनुभएको छ, जुन व्यवस्था धेरै इसाई स्वतन्त्रताले भरिएको र सहज छ।
३. इसाई स्वतन्त्रता अरूको निम्ति ठेस बन्ने तरिकाले प्रयोग गर्नुहुँदैन।
४. रगत वा रगत भएको मासु खाने वा नखाने भन्ने कुरा इसाई स्वतन्त्रता भित्र रहेको कुरा हो।
५. यसकारण, खानु आफैमा पाप होइन र यसर्थमा यसले दण्ड निम्त्याउदैन।
६. तर, यो स्वतन्त्रताको प्रयोगले अरूलाई ठेस पुर्याउनु पाप गर्नु हो र परमेश्वरले यसको लेखा लिनुहुन्छ।
७. यसकारण, इसाई स्वतन्त्रता प्रयोग गर्दा हामीहरु होसियार हुनुपर्छ।
निष्कर्ष: विश्वासीहरुले जनावरको रगत वा रगत भएको मासु खानु पाप होइन। खान मिल्छ। तर, नेपालको सन्दर्भमा नखानु नै उचित र सुरक्षित देखिन्छ। किनकी, खानु आफैमा पाप नभएपनि यसले धेरै नेपाली इसाई विश्वासीहरूलाई ठेस पुर्याउन सक्ने सम्भावना ठूलो रहेको हुँदा पाप तिर दोहोर्याउन सक्ने सम्भावना पनि ठूलो देखिन्छ। धन्यवाद।
साजन श्रेष्ठ।
Comments
Post a Comment