इसाई अन्त्येष्टि

विश्वासीको देह: दहन कि दफन? 

मृत्यु एउटा उम्कन नसकिने घटना हो, जसले हरेक जीवित प्राणीहरु वा थोकहरुलाई एकदिन आफ्नो सिकार बनाउँछ। "कुनै पनि मानिससँग आत्मा रोकीराख्न सक्ने शक्ति विश्वासीको देह: दहन कि दफन? छैन, न त मृत्युको दिन माथि नै" (उपदेशक ८:८, लेखकको अनुवाद)। यसकारण, "मानिसको निम्‍ति एक पटक मर्नु निश्‍चित छ" (हिब्रु ९:२७)।

हालै नेपाली ख्रीष्टियान मण्डलीको अति नै प्रभावशाली र आदरणीय व्यक्ति, प्रभुको दास रोबर्ट कार्थक ज्यु को मृत्युले इसाई समुदायमा दाहसंस्कार सम्बन्धी ठूलो विचार भेद निम्त्याएको देखिन्छ। उहाँलाई दफन नगरी दहन गरिएको थियो। (दफन गर्नु भनेको जमीनमा गाड्नु हो र दहन गर्नु भनेको जलाउनु हो)। नेपालमा अधिकांस विश्वासीको मृत शरीरलाई दफन गर्ने चलन छ।

यसकारण, यस विषयमा सामाजिक सञ्जालमा धेरै चर्चा परिचर्चा भइरहेको पाईन्छ। तर वास्तवमै, विश्वासीको दाहसंस्कार विधि के हो? के दहन गर्नु पाप हो त? बाइबलले के भन्छ? के दफन अनिवार्य हो? आउनुहोस् बाइबलीय सर्वेक्षण गरौं।

बाइबलमा पहिलो पटक दाहसंस्कारको विषयमा उत्पति २३ ले बताउँछ। यस अघि थुप्रै व्यक्तिहरूको निधन भएको भएता पनि उनीहरूको देहलाई के गरियो भन्ने बारेमा जानकारी दिएको छैन। तर उत्पति २३ अनुसार, अब्राहमले आफ्नो १२७ वर्षमा निधन भएकी श्रीमतीलाई चार सय सेकेक चाँदीको सिक्का (आजको रूपयाँ पैसामा तुलना गर्ने हो भने त्यो रकम पाउने पन्ध्र करोड हुन जान्छ) तिरेर चिहान किनी दफन गरेका थिए। अब्राहमलाई पनि १७५ वर्षको दीर्घायुको मृत्यु पछि त्यही चिहानमा दफन गरिएको थियो। यसैगरी उनका सबै सन्तानहरुलाई मृत्यु पश्चात प्राय दफन गरिएको पाइन्छ। पुरानो करारमा यसरी २०० पटक दफन नै दाहसंस्कारको मान्य विधिको रुपमा प्रयोग भएको भेटिन्छ। 

याकुबले आफ्नो मृत्यु अघि आफ्ना छोराहरूलाई यसरी बिन्ती गरेका थिए: “म त मेरा मानिसहरूकहाँ मिल्‍न जान लागेको छु। हित्ती एप्रोनको खेतमा भएको ओड़ारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड़, अर्थात्‌ कनान देशमा मम्रेनेरको मक्‍पेलाको खेतमा भएको ओड़ार, जो अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए। त्‍यहीँ नै उनीहरूले अब्राहाम र तिनकी पत्‍नी सारालाई गाड़ेका थिए। र त्‍यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्‍नी रिबेकालाई पनि गाड़ेका थिए। त्‍यहीँ नै मैले लेआलाई गाडें। त्‍यो खेत र त्‍यहाँ भएको ओड़ार हित्तीहरूको हातबाट किनेको हो।” (उत्‍पत्ति ४९:२९-‬३२)। यसैले मिश्र देश देखि योसेफ र उनका दाजुभाई मिलेर याकूबलाई कनानसम्मै पुर्‍याए र गाड़े (५०:१-१४)। 

पुरानो करारमा मोशाको मृत्यु रहस्यमय तरिकाले भएको देखिन्छ। कोही पनि इस्राएलीले उनको मृत्युलाई देख्न पाएनन्। र उनको देहलाई परमेश्वर आफैले दफन गर्नु भयो भनी बाइबल बताउँछ। व्यवस्था ३४ को ५ देखि ८ सम्म यस घटनालाई यसरी टिप्पनी गरिएको छ: "तब परमप्रभुको वचनअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे। मोआब देशमा बेथ-पोरको सामुन्‍ने एउटा बेँसीमा उहाँले तिनलाई गाड्‌नुभयो। तर आजसम्‍म कसैलाई तिनको चिहान थाहा छैन। मोशाको मृत्‍यु हुँदा तिनी एक सय बीस वर्षका थिए। तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन। मोआबको मैदानमा इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्‍म विलाप गरे। यसरी मोशाको लागि शोक र विलाप गर्ने दिन पूरा भए।"

नयाँ करारमा कुनै पनि विश्वासीलाई दहन गरियो (जलाइयो) भन्ने विवरण दिइएको छैन। सबै सन्तहरुलाई दफन नै गरिएको थियो। 

यस आधुनिक समय अघिको मण्डली इतिहासले तीब्र रुपमा दहनको विरोध गरी आधिकारिक रूपमा दफन विधि नै प्रयोग गरिएको साक्षी दिन्छ।

बाइबलमा केही दहनको विवरणहरू पनि पाउन सक्छौं। पहिलो उल्लेख पहिलो शामुएल ३१:११-१३ मा पाईन्छ। गिब्बो डाँडामा इस्राएलीहरु पालिश्तीहरु सँग युद्ध गर्छन्, शाऊलका तीनै भाई छोराहरू मारिन्छन् र शाऊल भने आफै आत्म हत्या गर्छन्। त्यसपश्चात पालिश्तीहरुले शाऊलको शिर काटेर गएका थिए। यो घटना सुनेर याबेश-गिलादका मानिसहरू शाऊल र उनका छोराहरूको लास उठाउन जान्छन्। सायद यस समय सम्ममा ती लासहरू दुर्गन्धित भइसकेका थिए र शरीरका केही अङ्गहरू पनि थिएन। यसैले ती मानिसहरूले यी लासहरूलाई त्यही जलाउँछन् र खरानी ल्याएर गाड़ी दिन्छन्। अन्य खण्डहरु जस्तै, लेवी २०:१४; २१:९; यहोशू ७:२५-२६; आमोस २:२; ६:८-१० सबैले दहनलाई दण्डको रूपमा प्रस्तुत गरेको छ।

मण्डली इतिहासमा थुप्रै सन्तहरुलाई क्रुर शासकहरूले जिउँदै जलाईएको घटनाहरू पढ्न पाईन्छ। तर इसाईहरु आफै भने गाडिएको चाहन्थे भन्ने कुरा प्रष्ट देखिन्छ। यी चाहना पछाडि इसाईहरुमा चार कारणहरू थिए: १. हरेक मानिसको शरीर परमेश्वरले सृजनु भएको हो, यसले उहाँको प्रतिरूप बोकेको छ, यसकारण आदर साथ व्यवहार गरिनु पर्छ। २. जब येशू ख्रीष्ट संसारमा आउनु भयो उहाँले शरीर र शारीरिक अस्तित्वलाई अद्भुत रितिले पवित्र तुल्याउनु भयो। ३. पवित्र आत्माले विश्वासीको शरीरमा बास गरेर आदरको भाडा बनाउनु भयो। र ४. येशू आफै पनि गाडिए पछि जीवित भई उठ्नु भयो, यसैले उनीहरूको गडाई भनेको भविष्यमा हुने पुनरुत्थानको साक्षी हो।

तर, के दहन गर्नु साँच्चै पाप हो? के यसले मानिसलाई नरक पुर्‍याउँछ? पुनरुत्थानको दिनलाई यसले असर गर्ने हो कि? 

यस कुरामा हामी प्रष्ट हुन जरुरी छ कि बाइबलले विश्वासीको दफन नै गर्नु पर्छ भनी आदेश दिएको छैन; न त यसले दहन गर्न मनाही नै गरेको छ। हामीले हेरेका ती खण्डहरु आदेशहरू नभएर उदाहरणहरु मात्र हुन। यसकारण, दहन गर्नु पाप होइन। 

अर्को कुरा: मानिसको स्वर्ग वा नरक जाने कुरा उ जिउँदो छँदै उसले गरेको विश्वास वा अविश्वासले निर्धारण गर्छ। शारीरिक मृत्यु पछि उसलाई यस्तो छनोट गर्ने अधिकार दिईएको छैन। साथै, व्यक्तिको मुक्ति उसको परिवार, आफन्त वा पास्टर अगुवाहरूको हातको कुरा होइन। न त यी व्यक्तिहरु मुक्ति दिन नै सक्छन्, न खोस्न नै। यो प्रभुको अनुग्रह र सम्बन्धित व्यक्तिको विश्वासको कुरा हो (एफिसि २:८-९)। 

र तेस्रो प्रश्नको लागि: दफन र दहन दुवैले शरीरलाई माटोमा मिलाउने काम गर्छ। फरक यति मात्र हो की दहनले चाँडो गर्छ भने दफनले ढिला। साथै, पुनरुत्थानको दिन प्रभुले मानिसलाई महिमित शरीर दिई उठाउने हो। यो पार्थिव शरीर र त्यो महिमित शरीर बीच निरन्तरता भएता पनि दहन र दफनले शरीरलाई माटो मै मिलाउने हुँदा, यी दुईले पुनरुत्थान गराउने परमेश्वरको शक्तिलाई केही असर गर्दैन। यसकारण, दहन पुनरुत्थानको विरोधी हुन सक्दैन। 

यद्यपि, दफनलाई बाइबलीय उदाहरणहरु र मण्डली इतिहासले गहन समर्थन गरेको हुँदा, समय परिस्थिति र आर्थिक भौतिक कुराले साथ दिए सम्म यस विधिलाई दहन विधि भन्दा धेरै चाहन लायकको देखिन्छ। धन्यवाद। 

#दहन #दफन #इसाई #विश्वासी #जीवन #मृत्यु #अन्त्येष्टि #दाहसंस्कार #देह #रोबर्ट_कार्थक #मुक्ति #आशा #पुनरुत्थान 

ख्रीष्टको सेवामा,
साजन श्रेष्ठ, एम. डिभ.

Comments

Popular posts from this blog

मुक्ति

बाइबलले नरकको विषयमा के बताएको छ?

गूड फ्राइडे (असल शुक्रबार)