मर्कूस १६:९-२०: के यो खण्ड बाइबलमा हुन जरुरी छ?
के यो खण्ड बाइबलमा हुन जरुरी छ?
१. मर्कूस १६:९-२० सबै भन्दा पुरानो, भरपर्दो र आदर गरिएका ग्रीक पाण्डुलिपीहरु, अर्थात् कोडेक्स सिनाइटिकस र कोडेक्स भ्याटिकनस, मा छैन।*
२. क्लेमेन्ट, ओरिजेन, र युसेबियस लगायत धेरै प्रचीन मण्डली पिताहरुले यो खण्ड रहेको ज्ञान देखाउँदैनन्। धेरै पाण्डुलिपीहरुमा यो खण्ड नभएको कुरा क्लेमेन्ट आफैले स्वीकार गरेका छन्।
३. यस खण्ड उल्लेखित पाण्डुलिपीहरुमा पनि थपिएको कुरा देखाउन चिन्हद्वारा अंकित गरिएको छ।
४. यस खण्डमा पाईने शब्दहरू र शैली मर्कूसको सुसमाचारको अन्य खण्डहरूमा भन्दा भिन्न छन्।
माथिका बुँदाहरूद्वारा यो प्रष्ट हुन्छ कि मर्कूस १६:९-२० बाइबलको मूल अंश होइन। यो कुनै शास्त्रीले पछि थपेको खण्ड हो।
त्यसोभए, के यो खण्ड बाइबलमा हुन आवश्यक छ त? कुनै पनि बाइबलीय शिक्षामा वा सिदान्तमा यस खण्डले केही नयाँ कुरा थपघट वा असर नगर्ने भएकोले, मेरो विचारमा, यस खण्डलाई बाइबल भित्र समावेश गर्न जरुरी नै नभए पनि हटाउन आवश्यक छ जस्तो लाग्दैन। तर, यस खण्ड भित्र भएका कुराहरूको व्याख्या भने होसियार साथ अन्य खण्डहरूको प्रकाशमा गरिनु पर्छ। विशेष गरी यस खण्डबाट सन्दर्भ बाहिर निकाली व्याख्या गरिने पदहरू देखि होसियार हुन जरुरी हुन्छ। ती पदहरू यस प्रकार छन्: "विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्, तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्ना हात राख्नेछन् र तिनीहरू निको हुनेछन्।" (मर्कूस १६:१७-१८)।
*(बाइबलका मूल हस्तलिपीहरु लोप भइसकेका छन्। तर ती लिपिहरूका पाण्डुलिपीहरु भने हजारौं संख्यामा पाईन्छ। यसकारण, आधुनिक इश्वरशस्त्री र विज्ञहरुको काम भनेको यी ठूलो संख्यामा भएका पाण्डुलिपीहरुलाई अध्ययन गरी मूल हस्तलिपीसँग मिल्ने पाण्डुलिपी तयार गर्नु हो। यस कार्यलाई सघाउने काम पाण्डुलिपीहरुको उमेर (लेखिएको मिति) ले गर्दछ। किनकी जति पुरानो पाण्डुलिपीहरु हुन्छन्, त्यति तिनीहरू मूल हस्तलिपीहरुसंग नजिक हुन्छन् र त्यहाँ थोरै गल्तीहरू हुन्छ।)
अर्को लेखमा यी पदहरूको सान्दर्भिक व्याख्या गर्ने छु। तब सम्मको लागि प्रार्थना सहित धैर्य गर्नुहोला। धन्यबाद!
प्रभुको दास,
साजन श्रेष्ठ, एम. डिभ.
Comments
Post a Comment