प्रभुभोज [Lord's Supper]


प्रभुभोज [Lord's Supper]

"जुन रात उहाँ पक्राउ पर्नुभयो, त्‍यो रात प्रभु येशूले रोटी लिनुभयो, र धन्‍यवाद दिनुभएपछि उहाँले त्‍यो भाँच्‍नुभयो, र भन्‍नुभयो, “यो तिमीहरूका निम्‍ति मेरो शरीर हो। यो मेरो सम्‍झनाको निम्‍ति गर।” त्‍यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्‍झनामा यो अक्‍सर गर।”" (१ कोरिन्थी ११:२३६-२५)।

प्रभूभोज येशू ख्रीष्टले मण्डलीको निम्ति स्थापन गर्नुभएको दुई विधिहरु मध्येको एक विधि हो (मत्ति २६:१७-३०; मर्कूस १४:१२-२६; लुका २२:७-२३; यूहन्ना १३:२१-३०)। यो विधि उहाँले आफू पक्राउ पर्नुभएको रातमा स्थापन गर्नुभएको थियो (१ कोरन्थी ११:२३-२५)। 

बाइबलमा प्रभुभोजलाई जनाउन अन्य विभिन्न वाक्यांशहरु पनि प्रयोग गरिएको छ। ती वाक्यांशहरु यसप्रकार छन्: "रोटी भँचाई" (प्रेरित २:४२; २०:७); "सहभागिता" (१ कोरन्थी १०:१६); "प्रभुको टेबल" (१ कोरन्थी १०:२१)।

अङ्ग्रेजी भाषामा यसलाई लोर्डस सपरको (Lord's Supper) अलावा कहिले-काहिँ युक्यारीस्ट (Eucharist) पनि भनिन्छ र रोमन क्याथोलिक चर्चहरुले यसलाई "मास" (Mass) भन्ने गर्दछन्। 

रोमन क्याथोलिक चर्चहरुले प्रभुभोजमा प्रयोग गरिने रोटी र जुस सही तरिकाले नियुक्त गरिएको पूजारीले प्रार्थना गर्नासाथ वास्तवमै येशू ख्रीष्टको शरीर र रगतमा परिणत हुन्छ भनी विश्वास गर्दछन्। यसकारण, उनीहरूको निम्ति यो अति महत्वपूर्ण विधि हो (उनीहरूको मण्डलीहरुमा सात विधिहरु हुन्छन्।)

लुथरका समूहले यी रोटी र जुस येशू ख्रीष्टको वास्तविक शरीर र रगतमा परिणत हुन्छन् भनी विश्वास त गर्दैनन, तरै पनि उनीहरूका अनुसार उहाँ शारीरिक रूपमा यी ठोकहरु मा,माथि र भित्र उपस्थित हुनुहुन्छ भनी विश्वास गर्छन्। यसकारण, उनीहरूको निम्ति पनि यी थोकहरू आशिषको स्रोत हो र अति महत्वपूर्ण छन्।

क्यालभिनका समूह अनुसार पनि यी थोकहरु उहाँको वास्तविक शरीर र रगतमा परिणत हुँदैनन्। न त यी थोकहरुमा उहाँ शारीरिक रूपमा उपस्थित नै हुनुहुन्छ। तर, ती थोकहरुमा उहाँ आत्मिक रूपमा भन्ने उपस्थित हुनुहुन्छ। यसकारण, उनीहरूका अनुसार पनि यी थोकहरू आशिषका स्रोत हुन्। 

अर्को एक समूह छ जसको विश्वास माथि उल्लेखित समूहहरु र उनीहरूको विश्वास भन्दा भिन्न देखिन्छ। यो समूहलाई स्विङली (Zwingli) को समूह भनी चिनिन्छ। यो समुहको अनुसार ती थोकहरु न त येशू ख्रीष्टको वास्तविक शरीरमा परिणत हुन्छन्, न ती थोकहरुमा उहाँको शारीरिक या आत्मिक उपस्थिति हुन्छ। यो त ख्रीष्ट येशूले हाम्रो निम्ति क्रुसमा गर्नुभएको उहाँको कार्य सम्झनको निम्ति दिनुभएको एउटा विधि मात्र हो। यसकारण, ती थोकहरु केवल प्रतीकात्मक/संकेतात्मक चीजहरू मात्र हुन्, जसले हामीलाई ख्रीष्ट येशूले हाम्रो निम्ति भोग्नुभएको कष्टको स्मरण गराउँदछ। र यसैगरी, उहाँको उपस्थिति ती थोकहरुमा नभई ती थोकहरू लिन (खान) उचित स्वभाव र सोचका साथ सहभागी भएको समुहमा मात्र हुन्छ (१ कोरन्थी १:२३-२५ पढ्नुहोस)। 

माथि उल्लेखित चार धारणाहरू मध्ये, अन्तिम अर्थात् चौथो धारणा मात्र बाइबलीय देखिन्छ। किनकी, बाइबलमा कतै पनि यी थोकहरु उहाँको शरीर वा रगतमा परिणत हुन्छ भनी सिकाएको छैन। बरु, मानिसको शरीर वा रगत खानु दण्डनीय पाप हो भनी लेखिएको छ (लेवी २६:२८; व्यवस्था २८:५३-५७; यर्मिया १९:९ इति आदि)। न त उहाँको उपस्थिति ती थोकहरुमा हुन्छ भनी सिकाएको छ। बरु, उहाँले उहाँको नाउँमा "जहाँ दुई वा दुईभन्दा बढी भेला हुन्छौं त्यहाँ म उपस्थित हुनेछु" भनी प्रतिज्ञा गर्नुभएको छ (मत्ति १८:२०)। 

साथै, प्रभुभोज उहाँले हामीलाई उहाँको सम्झनामा लिन दिनुभएको एक विधि हो (१ कोरन्थी ११:२३-२५)। यो ख्रीष्ट येशूमा विश्वास गरी बप्तिस्मा लिएकाहरुको लागि मात्र हो। यसमा सहभागी हुने प्रत्येकले आफैलाई पहिला जाँच गरेर मात्र लिन/खान पावलले आह्वान गरेका छन् (१ कोरन्थी ११:२७-३२)। प्रभुभोज सहभागी हुने प्रत्येकको जिम्वेवारी भनेको उहाँको आगमन नभएसम्म सुसमाचार प्रचार गर्नु हो (१ कोरन्थी ११:२६)।

प्रभुभोज यो यो समयमा लिनु भनी समय तोकिदिएको छैन। यसकारण, यो मण्डली अनुसार फरक फरक समयमा लिने गरिन्छ। तर, यो ख्रीष्ट येशूले हाम्रो निम्ति भोग्नुभएको कष्ट सम्झना गराउने र सुसमाचार प्रचार गर्नुपर्ने हाम्रो जिम्वेवारीलाई याद दिलाउने बलियो विधि भएकोले, यसलाई समय-समयमा अभ्यास गरिरहनु उचित देखिन्छ। प्रभुभोजको अर्थ गुम्न नदिन र उहाँले हाम्रो निम्ति गर्नुभएको काम नभुल्न यसलाई प्रत्येक महिना कम्तीमा एक पटक अभ्यास गर्नु असल हुन्छ। 

निष्कर्ष: प्रभुभोज येशू ख्रीष्टले मण्डलीको निम्ति स्थापना गर्नुभएको दुई विधिहरु मध्येको एक विधि हो। यो विधि उहाँ र उहाँले हाम्रो निम्ति क्रुसमा गर्नुभएको कामको सम्झनाको निम्ति अभ्यास गरिन्छ। यस विधिमा मुक्ति पाएका र बप्तिस्मा लिएकाहरु मात्र सहभागी हुनसक्छन्। यस विधिले हामीलाई हाम्रो जीवनको जाँच गर्न चुनौती र सुसमाचार प्रचार गर्न प्रोत्साहन दिन्छ। यसकारण, यसलाई प्रत्येक महिना कम्तीमा पनि एक पटक अभ्यास गरिराख्नु उचित, आवश्यक र आशिषमय देखिन्छ। धन्यवाद। 

ख्रीष्टको सेवामा, 
साजन श्रेष्ठ।






Comments

Popular posts from this blog

मुक्ति

बाइबलले नरकको विषयमा के बताएको छ?

गूड फ्राइडे (असल शुक्रबार)