मुक्ति गुम्छ कि गुम्दैन?

 


मुक्ति गुम्छ कि गुम्दैन?

ख्रीष्टियान जगतमा यो एक प्रख्यात प्रश्न हो। यो प्रश्नलाई सबै इसाई विश्वासीहरुले आफ्नो जीवनमा एक न एक पटक सुन्ने, सोध्ने वा सामना गर्ने गर्दछन्।

यो प्रश्न सोधिनुको पछाडी निम्न कारणहरू मध्ये एक कारण प्रबल रहेको देखिन्छ: १. आफू पापसँग संघर्ष गर्दैगर्नु; २. अरु पापमा फसेको देख्नु; वा ३. कसैबाट पाप गरेको खण्डमा मुक्ति गुम्छ/गुम्दैन भन्ने वाक्यहरू सुनेकोले बाइबलबाट प्रष्टिकरण चाहनु।

वास्तविक प्रश्न यो हो कि, के साँच्चै मुक्ति पाएको विश्वासीले पाप गरेर त्यो मुक्ति गुमाउँन सक्छ? अथवा, अर्को शब्दमा सोध्नुपर्दा, के साँच्चै प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता भनी विश्वास/स्वीकार गरिसकेको व्यक्तिले पापमा फसेर पाएको मुक्ति गुमाउन सक्छ?

केही मानिसहरूले मुक्ति गुम्छ वा गुमाउन सकिन्छ भनी सिकाउँदछन। उनीहरूका अनुसार मुक्ति पाएको व्यक्तिले यदि पाप गर्यो भने त्यो मुक्ति गुम्न सक्छ। यसकारण, उनीहरूको अनुसार मुक्तिको कुनै सुरक्षा हुँदैन।

तर बाइबलले साँचो मुक्ति गुम्दैन भनी सिकाउदछ। अर्को शब्दमा भन्नुपर्दा, बाइबलको अनुसार यदि कसैले आफ्नो पाप स्वीकार गरेर प्रभु येशू ख्रीष्टलाई साँच्चै नै आफ्नो मनबाट नै उहाँ मेरो व्यक्तिगत मुक्तिदाता हुनुहुन्छ भनी विश्वास/स्वीकार गरेको छ वा गर्दछ भने उसले आफ्नो मुक्ति गुमाउँदैन।

यसले तपाईहरूमा विभिन्न प्रश्नहरू उब्जाएको हुनसक्छ। कतिजनाले यो सोच्दै हुनुहुन्छ होला: के मुक्ति पाएको व्यक्तिले जस्तो सुकै पाप गरेपनि उ नरक जाँदैन र, अर्थात् उसले मुक्ति गुमाउँदैन र? यदि यसो हो भने के यसले पाप गरिरहन उत्साह दिँदैन र?

यी जायज प्रश्नहरूको जवाफ तपाईले एकैछिनमा पाउनुहुनेछ। तर, त्यसअघि यो सत्यतालाई बुझौं: बाइबलको अनुसार, मुक्तिका तीन चरणहरू छन्। ती हुन्, धर्मीकरण [Justification], शुद्धीकरण [Santification], र महिमिकरण [Glorification]।

१. धर्मीकरण [Justification]: जब हामीले प्रभु येशू ख्रीष्टलाई हाम्रो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्छौं, तब परमेश्वरले हामीलाई धर्मी घोषणा गर्नुहुन्छ। यो हाम्रो मुक्तिको प्रथम चरण हो र यस चरणमा परमेश्वरले हाम्रो पापलाई क्षमा दिएर ख्रीष्टको धार्मिकताको आधारमा हामीलाई धर्मी घोषणा गर्नुहुन्छ। यसलाई ईश्वरशास्त्रीहरुले अदालतीय धर्मीकरण [Forensic Justification] पनी भन्ने गर्दछन्, किनकी यस चरणमा विश्वासीहरु पूर्ण र वास्तविक रूपमा धर्मी बनाईएका हुँदैनन्। तर, उनीहरूलाई धर्मी घोषणा मात्र गरिएको हुन्छ। यस चरणमा परमेश्वरले हामीलाई पापको दण्ड [Penalty] देखि स्वतन्त्र तुल्याउनु हुन्छ।

२. शुद्धीकरण [Santification]: शुद्धीकरण धर्मीकरणसँगै सुरु हुन्छ। यस चरणमा विश्वासीहरुले परमेश्वरको सहायतामा ख्रीष्ट येशू जस्तै बन्ने प्रयत्न गर्नुपर्दछ। यस चरणमा पापको कारणले गर्दा विश्वासीहरूले धेरै संघर्ष गर्नुपर्ने हुन्छ। यसकारण, यस चरणमा जति धेरै परमेश्वरमा समर्पित भएर पवित्र आत्माको नियन्त्रणमा जिइयो त्यति धेरै जीवन आशिषमय बन्छ, तर जति धेरै सांसारिक तरिकाले जियियो त्यति धेरै जीवन संघर्षमय हुन्छ। यस चरणमा परमेश्वरले हामीलाई पापको शक्ति [Power] देखि स्वतन्त्र तुल्याउनु हुन्छ। यो चरण शारीरिक मृत्युमा अन्त्य हुन्छ।

३. महिमिकरण [Glorification]: महिमिकरण मुक्तिको अन्तिम चरण हो। यो चरण मृत्यु पछि सुरु हुन्छ र पुनरुत्थानमा पूर्ण हुन्छ। यस चरणमा परमेश्वरले हामीलाई पापको उपस्थिति [Presence] देखि स्वतन्त्र तुल्याउनु हुन्छ।

मुक्तिको यो तीन चरणहरूलाई तपाईले निम्न चित्रबाट सरल तरिकाले भुझ्न सक्नुहुनेछ।

√|+-+-+-+-+-+-+-+-+-+-+-+-+-+-+-+-+-+-+-+-+-+-|√

यो (|) चिन्ह भन्दा अघिको (√) ले धर्मीकरणलाई जनाउँछ। बीचको (+-) चिन्हहरुले शुद्धीकरणको चरणलाई जनाउँछ, जहाँ विश्वासी जीवनको उतार चढाव हुन्छ। र त्यसैगरी यो (|) चिन्ह भन्दा पछाडिको (√) ले महिमिकरणलाई जनाउँछ। पहिलो र तेस्रो चारणहरुमा परमेश्वर सक्रिय हुनुहुन्छ भने, दोस्रो चरणमा परमेश्वर र विश्वासी दुवैको सन्तुलित भूमिका हुन्छ।

माथिको हाम्रो प्रश्न मुक्तिको दोस्रो चरणसँग जोडिएको छ। वास्तविता यो हो कि जब सम्म विश्वासीले तेस्रो चरण, अर्थात् महिमिकरण, हासिल गर्दैन तब सम्म उसले पापसँग संघर्ष गरिरहनुपर्ने हुन्छ। र कहिलेकाहीँ उ लड्न (पापमा फस्न) पनि सक्छ। तर यदि उ साँचो मुक्ति पाएको व्यक्ति हो भने, उसले त्यस कुरामा (पापमा) आनन्द लिइरहेको हुँदैन। किनकी, कुनै पनि पापले साँचो विश्वासीलाई आनन्द दिँदैन। तर यदि त्यो व्यक्तिले साँचो मुक्ति पाएको छैन भने, उ पापमा निरन्तर रमाई रहन्छ, त्यलाई त्याग्न चाहँदैन र अन्त्यमा उ नरक जान्छ।

साथै मुक्ति निम्न कारणले गर्दा गुम्दैन:

१. परमेश्वरले हामीलाई राम्रोसँग चिन्नुहुन्छ। उहाँले हामीलाई धर्मी भएकोले चुन्नु भएको होइन, तर धर्मी बनाउनलाई चुन्नु भएको हो। यसकारण, उहाँले हामीलाई यतिकै त्याग्नु हुनेछैन (एफिसी १:४)।

२. मुक्ति हाम्रो निम्ति परमेश्वरको उपहार हो (एफिसी २:८-१०)। भलाको परमेश्वरले कहिले पनि आफूले दिसकेको उपहार फिर्ता लिनु हुनेछैन।

३. मुक्ति हाम्रो काम वा शक्तिमा आधारित नभई परमेश्वरको काम र शक्तिमा आधारित छ। उहाँले हाम्रो मुक्तिको निम्ति आवश्यक सबै कुराहरू प्रबन्ध गर्नु भएको छ र हाम्रो मुक्तिको सिद्ध गर्नुहुनेछ (२ टिमोथी १:१२; फिलिपि १:६; हिब्रू १०:१२, १८; यहुदा २४)।

४. परमेश्वरले हाम्रो मुक्तिको निम्ति ठूलो मूल्य चुकाउनु भएको छ। यसकारण, हामी उहाँको सन्तान बनिसकेपछि फेरि उहाँले हामीलाई त्याग्नु हुन्छ र? (रोमी ५:१०)।

५. मुक्तिलाई बाइबलमा नयाँ जन्म भनिएको छन (यूहन्ना ३:३)। के जन्मिसकेको व्यक्ति फेरि गर्भमा फिर्ता लिन सकिन्छ र?

६. विश्वासीहरूलाई परमेश्वरले अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको छ (यूहन्ना १०:३८)। अनन्त जीवन कति वर्षको हुन्छ? अनगिन्ती!

७. रोमी ८:३० अनुसार धर्मी घोषणा गरिएकाहरु महिमित गराइने छन्। महिमित गराउनु भनेको स्वर्गमा लैजानु हो।

८. रोमी ८:३८ र ३९ अनुसार विश्वासीलाई परमेश्वरको प्रेम देखि कसैले पनि अलग गराउँन सक्दैन!

९. पवित्र आत्माले विश्वासीहरुलाई मुक्तिको दिन सम्मको लागि छाप लगाएको हुन्छ र उनीहरूमा बास गर्नुहुन्छ (एफिसी ४:३०; यूहन्ना १४:१६, १७)।

१०. ख्रीष्ट येशूले हाम्रो निम्ति मुख्य पूजाहारी र वकीलको रूपमा सेवा गर्दै हुनुहुन्छ, जसले पनि हाम्रो मुक्तिको सुनिश्चित गराउँदछ (यूहन्ना १७:१-२६; हिब्रू ७:२५; १ यूहन्ना २:१)।

यसकारण माथिका यी प्रश्नहरू, के मुक्ति पाएको व्यक्तिले जस्तो सुकै पाप गरेपनि उ नरक जाँदैन र, अर्थात् उसले मुक्ति गुमाउँदैन र? यदि यसो हो भने के यसले पाप गरिरहन उत्साह दिँदैन र? को संक्षिप्त उत्तर दिनुपर्दा: १. पाप गम्भीर कुरा हो। परमेश्वरले यसको न्याय गर्नुहुन्छ। तर पनि साँचो मुक्ति गुम्दैन (हेर्नुहोस्, १ कोरन्थी ३:१३-१५)!; र, २. यसले पाप गरिरहन उत्साह दिँदैन, किनकी साँचो विश्वासीले नयाँ स्वभाव प्राप्त गरेको हुन्छ र पापले साँचो विश्वासीलाई आनन्द दिरहेको हुँदैन, बरु नोक्सानीको याद दिलाउछ। यसकारण, पाप गर्न उत्साह दिनुको सट्टा यसले निरूसहित पार्दछ।

ख्रीष्टको सेवामा,
साजन श्रेष्ठ।

Comments

Popular posts from this blog

मुक्ति

बाइबलले नरकको विषयमा के बताएको छ?

गूड फ्राइडे (असल शुक्रबार)