महिलाहरुले मण्डलीमा शिर ढाक्नु अनिवार्य छ कि छैन?

 

महिलाहरुले मण्डलीमा शिर ढाक्नु अनिवार्य छ कि छैन?

यस प्रश्नको सम्बोधन प्रेरित पावलले १ कोरन्थी ११:३-१६ मा गर्नुभएको छ। यस खण्डलाई विभिन्न तरिकाले उल्था गरिएको पाईन्छ। तर, यसलाई न्याय गर्न यसलाई लेखिएको समयको साँस्कृतिक पृष्ठभूमिलाई थाहा गर्नु आवश्यक हुन्छ।

संस्कृति एउटा फराकिलो धारणा हो। यस धारणाले कुनै पनि समुदाय, समाज वा राष्ट्रको निश्चित समय कालको मूल्य-मान्यता, विश्वास, रहन-सहन, भेष-भुषा, परम्परा, रीतिथिति र जीवनशैलीलाई समेट्छ। यो ठाउँ, समय वा मानिसहरूको समुह अनुसार फरक फरक हुने गर्दछ। हाम्रो देश नेपाललाई हामीले उदाहरणको रूपमा हेर्न सक्छौं। आकारको हिसाबले सानो राष्ट्र भएता पनि हाम्रो देश विविधताले भरिपुर्ण छ। वि. स्. २०६८ सालको जनगणना अनुसार नेपालमा १२५ जातजातिहरु छन् र ती प्रत्येक जातजातिहरुको आफ्नै भिन्न भिन्न संस्कृतिहरू छन्। इतिहासलाई विशेष ध्यान दिएर हेर्ने हो भने, समय सँगसँगै हाम्रो देशको संस्कृति पनि परिवर्तन भइरहेको अवलोकन गर्न सकिन्छ।

माथिको खण्ड ग्रीक शहरमा रहेका पहिलो शताब्दीको विश्वासीहरूलाई लेखिएको हो। यस खण्डको मुख्य विषय शिर ढाक्न अनिवार्य छ कि छैन नभई, किन परमेश्वरले बनाउनु भएको व्यवस्थाको अधीनमा बस्नुपर्छ भन्ने हो। यस खण्डको मुख्य पद, पद ३ हो, जहाँ यस्तो लेखिएको छ: "तर तिमीहरूले यो बुझ भन्‍ने म चाहन्‍छु, कि हरेक मानिसको शिर ख्रीष्‍ट हुनुहुन्‍छ, स्‍त्रीको शिर तिनको पति हो, अनि ख्रीष्‍टको शिर परमेश्‍वर हुनुहुन्‍छ।" (१ कोरिन्थी ११:३; एफिसी ५:२२-६:४ सँग दाज्नुहोस्।)

"शिर" शब्दले "अधिकार" लाई जनाउँछ। अस्तित्वको हिसाबमा [Ontologically] परमेश्वर पिता र येशू ख्रीष्ट बराबर हुनुभएतापनी, कार्यभारको हिसाबले [Functionally] उहाँहरू अलग अलग हुनुहुन्छ। यसैले, येशू ख्रीष्टले सधैं परमेश्वर पिताको इच्छा पूरा गर्ने कुरामा जोड दिनुभयो! त्यसरी नै, परिवारमा, अस्तित्वको हिसाबले [Ontologically] श्रीमान श्रीमती दुवै बराबर छन्। तर, परमेश्वरले सुम्पनुभएको कार्यभारको हिसाबले [Functionally] उनीहरू फरक फरक छन्।

श्रीमान परिवारको शिर हुन। परिवारको नेतृत्व गर्ने भार परमेश्वरले श्रीमानलाई सुम्पनु भएको छ। यसैले, श्रीमती श्रीमानको अधीनमा र बालबच्चाहरु उनीहरूको अभिभावकहरुको अधीनमा रहेर अघि बढ्नु आशिषमय हुन्छ। तर, यो बुझ्न जरुरी छ कि, अधीनमा रहनु अत्याचार सहनु होइन!

कोरन्थीको मण्डलीमा यस विषयमा समस्या थियो। केही स्त्रीहरू आफ्नो श्रीमानको अधीनमा नबसी समस्या निम्त्याई रहेका थिए। यसै सन्दर्भमा पावलले उक्त खण्ड लेखेका थिए।

त्यो समयमा श्रीमती श्रीमानको अधीनमा रहेनरहेको कुरा उनीहरूले लगाउने घुम्टोले देखाउँथ्यो। शिर नढाक्नेले श्रीमानको अधीनमा नरहेको कुरा देखाउँथ्यो। यो संस्कृति नेपालको तराई, भारतको उत्तर र मुस्लिम राष्ट्रहरूमा अहिले पनि प्रबल छ।

तर, सबै ठाउँहरुमा घुम्टोले अधीनता जनाउँदैन। नेपालको पहाडी र हिमाली भेगमा घुम्टोले (शिर ढाक्ने चलनले) अधीनतामा रहेको कुरा  देखाउँदैन। यसरी अन्य थुप्रै राष्ट्रहरूमा पनि घुम्टोले अधीनता जनाउँदैन्। यसैले, यो शिर ढाक्ने संस्कृति सबै स्थानहरूमा लागु गर्नु आवश्यक हुँदैन। समय र स्थान हेरी यस विषयमा उचित निर्णय गर्न सकिन्छ। उदाहरणको लागि, यदि तपाई तराईमा सेवा गर्दै हुनुहुन्छ र त्यहाँ घुम्टो नलगाउँदा (शिर नढाक्दा) श्रीमानको अपमान गरेको समाजले महसुस गर्छन् भने, मण्डलीमा घुम्टो लगाउन उत्साह दिनुहोस्। तर यदि तपाईको सेवा पहाडी क्षेत्रमा हो, जहाँ यसको कुनै हिसाब हुँदैन भने, घुम्टो हाल्ने संस्कृतिमा बल जफती नगर्नुहोस्। किनकी, प्रभुले बाहिरी कुरा भन्दा धेरै भित्री हृदय हेर्नुहुन्छ। र माथिको खण्डको मुख्य उद्देश्य अधीनमा रहन सिकाउनु हो!

निष्कर्ष: विश्वको विभिन्न स्थानहरूमा घुम्टोले अधीनता जनाउने गर्दछ। पावलको समयमा ग्रीक र रोमी साम्राज्यको प्राय स्थानहरूमा पनि घुम्टोले अधीनता बुझाउँथ्यो। यसैले, पावलले यस संस्कृतिलाई निरन्तरता दिदै अधीनमा रहन सिकाएका थिए। तर, आज सबै ठाउँहरूमा घुम्टोले अधीनता नजनाउने भएकोले यसलाई ती स्थानहरूमा लागु गर्नु आवश्यक हुँदैन। यसैले, यस विषयमा समय र स्थान हेरी निर्णय गर्नु बुद्धिमानी हुन्छ; र यस विषयमा कुनै कट्टर धारणा अपनाउनु उचित हुँदैन! धन्यवाद।

ख्रीष्टको सेवामा,
साजन श्रेष्ठ।

Comments

Popular posts from this blog

मुक्ति

बाइबलले नरकको विषयमा के बताएको छ?

गूड फ्राइडे (असल शुक्रबार)