ख्रीष्टमस

ख्रीष्टमस

ख्रीष्टमस शब्द सुन्ना साथ हामी विश्वासीहरूलाई विभिन्न कुराहरूको याद आउँछ। ख्रीष्टको जन्मदिनको याद आउँछ। त्यो दिन काटिने केकको याद आउँछ। क्यारोलमा गरिने रमाइलो नाँचगानको याद आउँछ। घर अनि मण्डलीको सर-सझावतको याद आउँछ। कतिलाई त मण्डलीमा खाइने भोज कै मात्र पनी याद आउला! गरिने उपहारहरुको आदान प्रदानको याद आउँछ। नयाँ लुगाफाटाहरुको याद आउँछ। कतिको त खर्चको चिन्ताले प्रेसर नी बढ्ला! तर के ख्रीष्टमस यति नै हो त? के साच्चै ख्रीष्टमस खानपिन, सर-सझावत र लवाहि-खवाहि मात्रै हो? साँच्चै सोध्नु पर्दा, ख्रीष्टमसको साँचो अर्थ चाहि के हो? ख्रीष्टमस ट्री किन? किन स्टार झुँड्याउने? किन सन्ता क्लाउस्को पुत्ला? किन उपहार आदान-प्रदान? किन क्यारोल? 

नेपाली शब्द "ख्रीष्टमस" अङ्ग्रेजी भाषाबाट लिइएको सापटी शब्द हो। यो शब्द सन् १५६८ देखि प्रयोगमा आएको देखिन्छ। वास्तवमा, 'ख्रीष्टमस' शब्द दुई पुरानो अङ्ग्रेजी शब्दहरु, 'ख्रीष्टस' र 'म्यास' (Cristes mæsse) मिलेर बनेको शब्द हो। यी पुरानो अङ्ग्रेजी शब्दहरू सन् ११२३ देखिनै प्रयोगमा आएको भेटिन्छ। यसकारण, "ख्रीष्टमस" शब्दको शाब्दिक अर्थ हुन्छ, "ख्रीष्टको जमात"। यद्धपी, 'ख्रीष्टमस' शब्द ख्रीष्टको जन्मोत्सव मनाउने चार्डलाई जनाउँन प्रयोग गरिन्छ।

अनौठो कुरा यो छ कि सुरुका विश्वासीहरूले ख्रीष्टको जन्मदिन/जन्मोत्सव (ख्रीष्टमस) मनाउँदैन थिए। यस्तो कुरालाई उनीहरूले अन्यजातीहरुको धर्मविधिको रूपमा लिन्थे। तर इस्तर र पेन्टेकोस्त भने उनीहरुको पात्रोमा थियो, अर्थात् उनीहरूले ख्रीष्टको जन्मदिन होइन तर उहाँको पुनरुत्थान (इस्तर) र पवित्र आत्माको आगमन (पेन्टेकोस्त) भने मानाउँथे। इतिहास खोतल्दा ख्रीष्टको जन्म दिन चौथौं शताब्दी बाट मनाउँन सुरु गरिएको पाहिन्छ। उहाँ जन्मिनुभएको मिति थाहा नहुँदा मार्च २५, अप्रिल २, मै २०, नोभेम्बर ८, डिसेम्बर २५ र जनवरी ६ लगाएत विभिन्न मितिहरु सुझाव गरिएको थियो। पोप जुलिअस प्रथम ले डिसेम्बर २५ लाई छनोट् गरेका थिए र पहिलो ख्रीष्टको जन्मदिन सम्राट कन्सताइनतिनको पालामा सन् ३३६ मा मनाईएको थियो। 

आज पनि केही विश्वासीहरूले विभिन्न कारणहरू देखाउँदै ख्रीष्टमस नमनाउने गरेको भेटिन्छ। तरै पनि, ख्रीष्टमस मनाउनै हुदैन भनि प्रमाणित गर्ने कुनै पनि तर्कसंगत कारणहरू भने उनीहरुले दिन सक्दैनन्। 

वास्तवमा, ख्रीष्टको जन्मोत्सव, अर्थात् ख्रीष्टमस, मनाउनु पर्ने थुप्रै असल कारणहरू छन्। सर्वप्रथम त: यदि येशू ख्रीष्ट यस संसारमा नजन्मिनु भएको भए, उहाँ क्रूसमा मर्न सक्नुहुन्न थियो; यदि उहाँ क्रूसमा नमर्नु भएको भए, हाम्रो पाप क्षमा हुन्न थियो; र, यदि हाम्रो पाप क्षमा नहुने हो भने, हामी अनन्त सम्म नरकमा रहनुपर्ने हुन्थ्यो। तर, उहाँको जन्मले ती सबै असम्भव कुराहरू सम्भव भएका छन् र हामीले पाप क्षमा पाएका छौं। यसकारण, उहाँलाई धनयवाद दिन हामीले ख्रीष्टमस मनाउनु पर्छ।

दोस्रो कारण हो परमेश्वरको इच्छा र आज्ञा! परमेश्वरले हामीलाई सिधै कतै पनि ख्रीष्टमस मनाउनु वा नमाउनु भन्ने आज्ञा/आदेश दिनुभएको छैन। तर, ख्रीष्टमस अर्थात् ख्रीष्टको जन्मोत्सव मार्फत उहाँका थुप्रै ईच्छा वा आज्ञाहरू पालन गर्न सकिन्छ। जस्तै: १ थेसलोनिकी ५:१६ र फिलिपी ४:४ का अनुसार उहाँले हामीलाई सधैं रमाएको चाहनुहुन्छ। वास्तवमा, परमेश्वरले ख्रीष्ट येशूलाई यस संसारमा पठाउनुको एउटा मुख्य उद्धेश्य पनि मानिसहरुलाई नरकमा अनन्त सम्म दुःखित नहोस्, उहाँमा रमाओस भन्ने नै हो। ख्रीष्टको जन्म दिनमा ज्योतिषीहरू औधी रमाएका थिए (मत्ति २:१०) । स्वर्गदूतहरु रमाएर खुसीको संदेश गोठालाहरूलाई सुनाएका थिए । मारियम र योसफ रमाएका थिए। र स्वर्गमा परमेश्वर पिता महिमित हुनुभएको थियो (लुका २:८-१४)। यसकारण, उहाँमा रमाउन र रमाओस भन्ने उहाँको इच्छा पूरा गर्न पनि हामीले ख्रीष्टमस मनाउनु पर्छ। 

साथै, उहाँले हामीलाई दुई महान आज्ञाहरू दिनुभएको छ: १. उहाँलाई आफ्नो सारा हृदयले, सारा प्राणले र सारा समझले प्रेम गर्ने; र, २. आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गर्ने। हामीले यी दुवै महान आज्ञाहरूलाई असल तरिकाले पालन गर्ने असल समय ख्रीष्टमसको समय बन्न सक्छ। यसको अर्थ यो होइन कि हामीले अरू बेला चाहिँ लापरबाहि गर्ने र ख्रीष्टमसको दिन चाहिँ प्रेमको झुटो नाटक गरेर उहाँको आज्ञा पालन गरेर देखाउने। तर वास्तवमा, ख्रीष्टमस भनेको एउटा यस्तो अवसर हो, जहाँ हामीले हाम्रो मन भित्र भएको हाम्रो छिमेकीहरु, साथी-भाई तथा इष्टमित्रहरु प्रतिको प्रेमलाई वर्ष भरी तयार गरेर त्यो दिन विशेष उपहार तथा भोजन सहित व्यक्त गर्न सक्छौं। परमेश्वर प्रतिको हाम्रो प्रेमलाई पनि दिन-दिनको प्रकतिकरण सँगै ख्रीष्टमसको दिन विशेष प्रकारले तयारीका साथ व्यक्त गर्न सक्छौं। यसैले पनि ख्रीष्टमस मनाउनु पर्छ।

ख्रीष्टमस मनाउनुको अर्को मुख्य उद्धेश्य भनेको ख्रीष्टको सुसमाचार प्रचार गर्न हो। ख्रीष्टमस एउटा यस्तो अवसर हो जहाँ ख्रीष्टमसको रमाहत हेर्न आउने प्रत्येक अविश्वासी मित्रहरूलाई ख्रीष्टको प्रेम र अनुग्रहको बारेमा बताउन पाईन्छ। अन्य सेवाहरूमा हामीले उहाँहरुलाई जाती नै जोड गरेर निमन्त्रणा गरेतापनि उहाँहरुको कामको व्यस्तता वा कुनै बहानाले मण्डली आउनुहुन्न, तर ख्रीष्टमसको दिन उहाँहरू विशेष तयारीका साथ आउने गर्नुहुन्छ। यसकारण, यो एउटा साच्चै नै असल अवसर हो जसमा हामीले उहाँहरुलाई सत्यताको मार्ग देखाउन सक्छौं। 

भोजभट्यार, नयाँ लत्ता-कपडा, झिलिमिली सर-सजावट वा मोज-मस्तीहरु ख्रीष्टमसको मुख्य केंद्र वा उद्देश्यहरु होइनन्। यी सबै कुराहरू ख्रीष्टमस मनाउने माध्यमहरूको रूपमा केही हदसम्म स्वीकार्य होलान, तर यी सबै कुराहरूको विशुद्ध उद्देश्य भनेको व्यक्तिगत स्वार्थ वा सामान्य मनोरञ्जन नभई परमेश्वरको साँचो उपासना, विश्वासीहरुको  आत्मिक वृद्धि र ख्रीष्ट बिना मरिरहेका आत्माहरुको निम्ति सुसमाचार प्रचार हो!

निष्कर्ष: 'ख्रीष्टमस' ख्रीष्ट येशूको जन्मोत्सव मनाउने एउटा इसाई चार्ड हो। यो चार्ड मानिसको पाप हरण गर्न येशू ख्रीष्ट यस संसारमा आउनुभएको खुसियाली मनाउन, परमेश्वरको प्रेमको खातिर उहाँको उपासना गर्न र उहाँको अनुग्रहको शुभ समाचार सबैलाई प्रचार गर्नको लागि मनाईन्छ। 

ख्रीष्टको सेवामा,
साजन श्रेष्ठ।



Comments

Popular posts from this blog

मुक्ति

बाइबलले नरकको विषयमा के बताएको छ?

गूड फ्राइडे (असल शुक्रबार)