के तपाई धन्यवादी हुनुहुन्छ?
धन्यवादी हुनुहोस!
यी अमेरिकी नागरिक सुँगुरको आनुवंशिक रुपमा परिमार्जित मुटु शल्यक्रियामार्फत आफूमा प्रत्यारोपण गरी पाउने विश्वको पहिलो व्यक्ति बनेका छन्।
डेभिड बेन्नेट नाम गरेका यी ५७ वर्षीय मानिसको अन्तिम उपाय कि मर्ने कि सुँगुरको मुटु प्रत्यारोपण गरी बाँच्ने थियो। यसै अवस्थालाई मध्यनजर गरेर अमेरिकी चिकित्सा नियामकले युनिभर्सिटी अफ म्यारिल्याण्ड मेडिकल सेन्टरका डाक्टरहरुलाई सुँगुरको मुटु उनमा प्रत्यारोपण गर्ने विशेष अनुमति प्रदान गरेका थिए।
यस्तो उपचार इतिहासमै पहिलो पटक भएको हुनाले उक्त व्यक्ति कति समय सम्म बाँच्ने छ वा यस उपचार कतिको प्रभावकारी हुनेछ भन्ने कुराहरूमा विज्ञहरु निश्चित नभएको बताउँछन्। यद्यपी, बेन्नेटले नयाँ जीवन पाएको आज चार दिन भइसकेको छ र उनी अस्पतालको ओछ्यानबाट चाँडै उठ्न पाउने आशाका साथ अस्पतालमा बसिरहेका छन्।
के तपाई यस प्रकारको उपचार प्राप्त गर्न सक्षम हुनुहुन्छ? के तपाईको मुटुले काम गर्न छोड्यो र अरू कुनै मानिसको मुटुलाई पनि तपाईमा प्रत्यारोपण गर्न नमिल्ने भयो भने यसरी उपचार गर्न तयार हुनुहुन्छ?
तपाईको जीवन र तपाईको स्वास्थ्य दुवै परमेश्वरको अनुग्रही उपहारहरु हुन! यसलाई तपाईले बिना मूल्य सित्तैमा प्राप्त गर्नु भएको छ। के तपाई उहाँ प्रति धन्यवादी हुनुहुन्छ? के तपाईले पाउनु भएको स्वस्थ आखाहरु, कानहरु, नाक, मुख, हातहरू, खुट्टाहरू, मुटु, कलेजो, मिर्गौलाहरु, फोक्सो र अन्य विभिन्न देखिने र नदेखिने शरीरका अंगहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिँदै हुनुहुन्छ? के तपाईंले पाइरहनु भएको घाम, पानि, अक्सिजन, खाना, वस्त्र, बासस्थानहरुको लागि उहाँलाई धन्यवाद दिँदै हुनुहुन्छ? दिईरहनु भएको छैन भने अब ढिला नगर्नुहोस्। किनकी, उहाँ तपाईको आदर, प्रशंसा, भक्ति र धन्यवाद प्राप्त गर्न योग्य सृष्टिकर्ता हुनुहुन्छ।
प्रभुले तपाईलाई आशिष दिनुभएको होस।
साजन श्रेष्ठ।
Comments
Post a Comment