बाइबलले नरकको विषयमा के बताएको छ?

नरक: बाइबलले नरकको विषयमा के बताएको छ?

अनौठो कुरा यो छ कि आजका मानिसहरुले नरकमा भन्दा धेरै स्वर्गमा विश्वास गर्दछन्। तर वास्तवमा बाइबलले जति असल र धेरै स्वर्गको बारेमा बयान गरेको छ त्यति नै भयानक र धेरै नरकको विषयमा पनि बताएको छ। बाइबलको अनुसार नरक पापीहरूको निम्ति वास्तविक र पिडादायक स्थान हो।

हाम्रो नेपाली वा अङ्ग्रेजी बाइबलहरुमा नरक वा हेल [Hell] भनी धेरै पटक अनुवाद गरिएका शब्दहरु विभिन्न हिब्रु र ग्रीक शब्दहरु बाटका हुन। यसकारण, नरक सम्बन्धि बाइबलीय शिक्षामा प्रष्ट हुन, ती शब्दहरुको अध्ययन जरुरी हुन्छ।

पुरानो करारमा शेओल (שְׁאוֹל) भन्ने हिब्रु शब्द प्रयोग गरिएको छ। यो शब्द ६५ पटक उल्लेख भएको छ र यसलाई चिहान, नरक वा नरलोक भन्ने शब्दहरु प्रयोग गरी नेपाली बाइबलहरुमा अनुवाद गरिएको पाइन्छ। तर वास्तवमा, यो शब्दले नरक वा नरलोक भन्दा पनि मृत्यु पछि सबै मानिसहरुको शरीर रहने स्थानलाई जनाउँछ (उदाहरणको लागि हेर्नुहोस् उत्पति ३७:३५)। त्यस समयका मानिसहरूले यस ठाउँलाई कहिल्यै नफर्किने ठाउँ पनि भन्थे (अयुब १६:२२; १७:१४-१६)। यसैले, यस बाट छुटकारा पाउनु उनीहरूको लागि आशिषको कुरा थियो [सम्भवत: पुनरुत्थानद्वारा] (भजन ३०:३)।

पुरानो करारलाई ग्रीक भाषामा* अनुवाद गर्दा यो शब्दलाई हेडिज (ᾍδης) भन्ने शब्द प्रयोग गरिएको थियो। नयाँ करारमा पनि यो शब्द १० पटक उल्लेख भएको छ (मत्ति ११:२३; १६:१८; लुका १०:१५; १६:२३; प्रेरित २:२७; २:३१; प्रकाश १:१८; ६:८; २०:१३, १४)। यी मध्ये लुका १६:२३ मा बाहेक अन्य सबै खण्डहरुमा यसको अर्थ पुरानो नियममा जस्तै छ। लुका १६:२३ मा भने येशू ख्रीष्टले हेडिज (ᾍδης) शब्दलाई कष्टको स्थानको रूपमा प्रयोग गर्नुभएको पाईन्छ, जस्लाई पापीहरूको वास्तविक गन्तव्य, अर्थात्, नरकसँग तुलना गर्न सकिन्छ।

नयाँ करारमा प्रयोग भएका अन्य शब्दहरु अव्युसोस् (ἄβυσσος), तर्टारो (ταρταρόω) र गेहेन्ना (γέεννα) हुन। अव्युसोस् (ἄβυσσος) ९ पटक प्रयोग भएको छ। यो खराब शक्ति कैद गरी राख्ने खाडल हो। शैतानलाई हजार वर्षे राज्यमा यहाँ कैद गरी राखिने छ (प्रकाश २०:१, २)। तर्टारो (ταρταρόω) शब्द खराब स्वर्गदूतहरुलाई न्यायको दिनसम्मको लागि राखिने स्थानलाई अंकित गर्न २ पत्रुस २:४ मा मात्र उल्लेख भएको छ।

हाम्रो विषयको लागि महत्वपूर्ण शब्द "गेहेन्ना" (γέεννα) हो। यो शब्द नयाँ करारमा १२ पटक उल्लेख भएको छ र ती मध्ये ११ ओटा पहिलो तीन सुसमाचारीय पत्रहरुमा पाइन्छ, जहाँ हरेक पटक येशू ख्रीष्ट आफैले नै यो शब्द प्रयोग गर्नु भएको थियो (मत्ति ५:२२,२९, ३०; १०:२८; १८:९; २३:१५, ३३; मर्कूस ९:४३, ४५, ४७; लुका १२:५; याकूब ३:६)।

यो शब्दलाई नेपाली बाइबलहरुमा हरेक पटक "नरक" नै भनी उल्था गरिएको छ। यस शब्दको पुरानो करारसँग जोडिएको चाखलाग्दो पृष्ठभूमि छ, तर समय र यस लेखको सीमालाई मध्यनजर गर्दा, यस पृष्ठभूमिलाई अर्को लेखको लागि साँची राख्नुपर्ने देखिन्छ। तर, हरेक पटक यस शब्दले पापीहरूको अनन्त पिडादायक दण्डलाई नै अंकित गर्छ।

नरकलाई बयान गर्ने अन्य खण्डहरु यसप्रकार छन्: मत्ति १३:४२; २५:४६; फिलिपी ३:१९; २ थेसलोनिकी १:९; हिब्रू १०:३९; २ पत्रुस २:१७; यहुदा १:१३; प्रकाश २:११; १९:२०; २०:६, १०, १४; २१:८। यी सम्पूर्ण खण्डहरुका अनुसार नरक पापीहरूको निम्ति (१) अनन्त, (२) पिडादायक, (३) विनाशी, (४) कष्टकर, (५) अन्धकारपूर्ण, र (६) परमेश्वरको उपस्थितिहीन दण्ड हो।

कोही कोहीले नरक क्षणिक दण्ड हो, यो अनन्त कालसम्मको लागि हुने दण्ड होइन भनी सिकाउने गर्दछन्। तर वास्तवमा, मत्ति २५:४६ ले यस्तो शिक्षालाई कुनै स्थान दिँदैन, किनकी यस खण्डमा यस्तो लेखिएको छ: "“यिनीहरू [पापीहरू] अनन्‍त दण्‍डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्‍त जीवनमा प्रवेश गर्नेछन्‌’।”" दानिएल १२:२ मा यस्तो लेखिएको छ: "पृथ्‍वीको धूलोमा सुतेका भीड़हरू उठ्‌नेछन्, केही अनन्‍त जीवनको लागि र अरूहरूचाहिँ शर्म र अनन्‍त तिरस्‍कारको लागि।"

नयाँ करारमा अनन्त (αἰώνιος) भन्ने शब्द छैसट्ठी पटक उल्लेख भएको छ। ती मध्ये सात स्थानहरूमा यस शब्दलाई दण्डसँग उल्लेख गरिएको छ (मत्ति १८:८; २५:४१, ४६; २ थेसलोनिकी १:९; हिब्रू ६:२; यहुदा १:६, ७)। र, यी सबै खण्डहरुमा "अनन्त" शब्दको अर्थ "क्षणिक समय" वा "लामो समय" मात्र नभई "असीमित समय" नै हुन्छ!

निष्कर्ष: नरक अनन्त र अति पिडादायक स्थान हो। यो स्थान प्रभु येशू ख्रीष्टलाई आफ्नो पृथ्वीको जीवनकालभरि नै इन्कार गर्नेहरु प्रत्येकको अन्तिम गन्तव्य हुनेछ।

*ग्रीक भाषामा अनुवाद गरिएको पुरानो करारको बाइबललाई "एल एक्स एक्स" (LXX) वा "सेप्टुजिन्त" (Septuagint) भनिन्छ।

ख्रीष्टको सेवामा,
साजन श्रेष्ठ।

Comments

Popular posts from this blog

मुक्ति

के तपाई धन्यवादी हुनुहुन्छ?