ख्रीष्ट येशूको पुनरुत्थानको तीन अकाट्य प्रमाणहरू
ख्रीष्ट येशूको पुनरुत्थानको तीन अकाट्य प्रमाणहरू
पुनरुत्थान शब्दले "मृत्यु पछि फेरि जीवित भई उठ्ने" तथ्यलाई जनाउँदछ। यो तथ्य इसाई विश्वासको एक अति महत्त्वपूर्ण अंश हो। वास्तवमै भन्नुपर्दा, इसाई विश्वास ख्रीष्ट येशूको पुनरुत्थानमा स्थापित एक एतिहासिक विश्वास हो, जुन विश्वास यस तथ्य विना एक सेकेन्ड पनि टिक्न सक्दैन। किनकी, इसाई विश्वास अनुसार ख्रीष्ट येशूको पुरुत्थान विना मानिसहरुको पाप क्षमा असम्भव छ र पाप क्षमा विना इसाई विश्वासमा लाग्नु व्यर्थ र अर्थहीन हुन्छ। तर, यदि ख्रीष्ट येशूको पुनरत्थान सत्य तथ्य हो भने, इसाई विश्वास बाहेक अरु कुनै पनि धर्म वा धार्मिक आस्थामा लाग्नु व्यर्थ र अर्थहीन हुन्छ।तर, के ख्रीष्ट येशूको पुनरुत्थान प्रमाणित गर्न सकिने सत्य इसाई विश्वास हो? हामीहरूसँग तीन अकाट्य प्रमाणहरू छन्, जसले यस विश्वासलाई सत्य हो भनी पुष्टि गर्दछ। हाम्रा प्रमाणहरू यसप्रकार छन्:
१. रित्तो चिहान: येशू ख्रीष्टलाई रोमी सिपाहीहरुले क्रुसमा टाँगेर मारेका थिए (मत्ति २७:३५; मर्कूस १५:२४; लुका २३:३३; यूहन्ना १९:१८)। उहाँको मृत्यु पछि, उहाँलाई अरिमाथिया भनिने ठाउँको योसेफ नाउँ गरिएको उहाँको चेलाले रोमी साम्राज्यको यहुदा प्रान्तका राज्यपाल पोन्तियस पिलातसको अनुमति लिएर आफ्नो चिहानमा दफन गरेका थिए (मत्ति २७:५७-६०; मर्कूस १५:४२-४६; लुका २३:५०-५३; यूहन्ना १९:३८-४२)। उक्त चिहानको मुखमा ठूलो ढुङ्गा राखिएको थियो (मर्कूस १६:३, ४)। लासलाई उहाँको चेलाहरुले चोरी लाने संका गरेर मुख्य पुजारीहरू र फरिसीहरुले पिलातससंग त्यस चिहानको रक्षाको माग गरेका थिए। र उनको अनुमतिमा पहरादारहरु खटाएर चिहानको सुरक्षा गरिएको थियो (मत्ति २७:६२-६६)। यी सबको बावजुद उहाँले प्रतिज्ञा गर्नुभएझै तेस्रो दिनमा उहाँ जीवित भई उठ्नु भयो! किनकी, तेस्रो दिनमा उहाँको चिहान रित्तो भेटिएको थियो! (मत्ति २८:१-८, ११-१५; मर्कूस १६:१-८; लुका २४:१-१२; यूहन्ना २०:१-९)। पुनरुत्थान बाहेक अरु कुनैपनि बयानले यस घटनालाई न्याय गर्न सक्दैन!
२. पुनरुत्थान पछिको प्रकटन: उहाँको पुनरुत्थानको दोस्रो प्रमाण हो पुनरुत्थान पछिको उहाँको उपस्थिति वा प्रकटन। पुनरुत्थान पश्चात उहाँ ४० दिनसम्म विभिन्न स्थान र चेलाहरू कहाँ देखा पर्नुभयो। पावल लेख्छन: "उहाँ केफासकहाँ, अनि बाह्रै जनाकहाँ देखा पर्नुभयो। त्यसपछि उहाँ एकै समयमा पाँच सयभन्दा बढ़ी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन् तर कोही-कोही सुतिसकेका छन्। त्यसपछि याकूब र सबै प्रेरितहरूकहाँ उहाँ देखा पर्नुभयो। सबैभन्दा अन्त्यमा असमयमा जन्मेको मानिसकहाँ जस्तो मकहाँ पनि उहाँ देखा पर्नुभयो।" (१ कोरिन्थी १५:५-८)। निम्न खण्डहरु पनि हेर्नुहोस्: मत्ति २८:९-१०; मर्कूस १६:११-१४; लुका २४:१३-४३; यूहन्ना २०:१०-२८; प्रेरित १:१-११।
३. चेलाहरूको विश्वास: येशू ख्रीष्टको पुनरुत्थानको तेस्रो प्रमाण हो चेलाहरूको विश्वास। यदि पुनरुत्थान सत्य नभएको भए उहाँका चेलाहरू सतावत भोग्न तयार हुन्न थिए। झुटको निम्ति को मर्न तयार हुन्छ र? तर, उहाँका सबै चेलाहरू सतावत भोग्न तयार थिए र धेरैले मृत्यु पनि सामना गरेको कुरा इतिहासले प्रष्टसँग देखाउँछ। जोन फोक्स द्वारा लिखित "संसारका ख्रीष्टिय शहीदहरू" र सन म्याकडवेल द्वारा लिखित "प्रेरितहरुको भाग्य" पुस्तकहरूले यस विषयलाई प्रबल तरिकाले प्रस्तुत गरेको छ। यस विषयमा अधिक रुचि भएकाहरुले यी पुस्तकहरु पढ्न सक्नुहुनेछ।
यी प्रमाणहरुले ख्रीष्ट येशूको पुनरुत्थान सत्य तथ्य हो र इसाई विश्वास सत्य तथ्यमा आधारित एक मात्र अब्बल एतिहासिक विश्वास हो भन्ने कुरा पुष्टि गर्दछ।
यसले इसाईहरुलाई भक्तिमय जीवन जिउन चुनौती दिन्छ र अन्य मानिसलाई निम्न दुई छनोटहरू प्रस्तुत गर्दछ: १. विश्वास गर्ने; वा २. इन्कार गर्ने। विश्वास गर्ने र येशू ख्रीष्टलाई मुक्तिदाताको रूपमा स्वीकार गर्नेले अनन्त जीवन पाउनेछ। तर, विश्वास नगर्ने र इन्कार गर्नेले अनन्त नरक पाउनेछ। धन्यवाद!
माथि प्रस्तुत गरिएको प्रमाणहरुको विषयमा अझ धेरै जानकारीहरु प्राप्त गर्न र पुनरुत्थानको विषयमा गहिरिएर बुझ्न निम्न पुस्तकहरु पढ्न सक्नुहुनेछ:
१. "Did Jesus Rise From the Dead" by William Lane Craig
२. "The Case for the Resurrection" by Lee Strobell
३. "The Case for the Resurrection of Jesus" by Gary R. Habermas and Michael R. Licona
४. "Evidence for Resurrection" by Josh and Sean McDowell
५. "The Resurrection of the Son of God" by N.T. Wright
६. "Alive: A Cold-Case Approach to the Resurrection" by J. Warner Wallace
७. "Who Moved the Stone" by Frank Morrison
८. "More than a Carpenter" by Josh McDowell
ख्रीष्टको सेवामा,
साजन श्रेष्ठ।
Comments
Post a Comment