सर्पहरू खेलाउने देखि होसियार!


हालै दुई अन्तराष्ट्रिय समाचारहरुले मलाई अति अचम्मीत र दुःखी तुल्यायो। एक समाचार थियो अमेरिकामा सर्प खेलाउने पास्टरको सर्पको टोकाइबाट मृत्यु र अर्को थियो रोमानियामा ६ वर्षको बच्चाको बप्तिस्माको कारणले भएको मृत्यु।


साँच्चै बाइबलको गलत बुुझाई र लागुले मान्छे मर्छ वा मार्छ: पहिलो समाचारमा पास्टरको आफ्नै असामयिक मृत्यु भयो र दोस्रो समाचारमा एक निर्दोष बच्चाको अप्रत्यक्ष रूपमा हत्या गरियो!
नेपालमा पनि आज केही पास्टरहरु र थुप्रै विश्वासीहरु बाइबलीय शिक्षामा अनजान तर भावना र कल्पनाको बहानमा उच्च देखिन्छ, जसले भविष्यमा यस्तो किसिमको परिस्थितिहरु ननिम्त्याउला भन्न सकिन्न। यसकारण, बाइबललाई सटीक र सन्दर्भमा बुझ्ने कोसिस गरौं। अनि आफू बचौं र अरूलाई पनि बचाउँ। 


आज हामी माथि उल्लेखित अमेरिकाको पास्टरले बुझ्न नसकेको खण्डलाई, जसले उसको आफ्नै मृत्यु निम्त्यायो, संक्षिप्त रूपमा सिक्नेछौं। उक्त खण्ड यस प्रकार छ:
"विश्‍वास गर्नेहरूसँग यी चिन्‍हहरू हुनेछन्‌— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्‍नेछन्, तिनीहरूले सर्पहरू समात्‍नेछन्‌ र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्‍यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्‍ना हात राख्‍नेछन्‌ र तिनीहरू निको हुनेछन्‌।"
(मर्कूस १६:१७-१८)। 


यस खण्डमा निम्न पाँच आश्चर्य कर्महरु वा चिन्हहरू उल्लेख भएको पाइन्छ:
१. भुतहरु धपाउने,
२. नयाँ भाषाहरू बोल्ने (अन्य भाषाहरू),
३. सर्पहरू समात्ने,
४. विषालु कुराहरू पिउने,
५. रोगीहरूलाई हात राखेर निको पर्ने।


अघिल्लो पदहरू अनुसार यो प्रष्ट छ की यी चिन्हहरू प्रेरितहरूले प्रचार गरेको सुसमाचार विश्वास गर्ने विश्वासीहरूले प्राप्त गर्ने थियो। 
तेस्रो र चौथो नम्बरमा उल्लेखित चिन्हहरू ग्रीक भाषाको बाइबलको वाक्यबाटै व्याख्यात्मक ढंगले उल्था गर्नु पर्दा यस्तो हुन्छ: तिनीहरूलाई सर्पहरू समात्न र विष पिउन बाध्य बनाए पनि, तिनीहरूलाई केही हानि हुने छैन (पद १८)। यसर्थ, कसैले प्रभुलाई परीक्षामा पार्ने हिसाबले जानि जानि सर्पहरू समात्ने वा विष पिउने गरेमा, ती व्यक्तिहरू मृत्युबाट उम्कन असफल हुन सक्छन्। 
नयाँ करारको समयमा यस्तो चिन्हहरू विश्वास गर्ने मानिसहरूलाई र विशेष गरी प्रेरितहरूलाई परमेश्वरको सन्देश र संदेशबाहकहरु सत्य छन् भन्ने कुराको प्रमाणको निम्ति दिइएको पाईन्छ (पढ्नुहोस, २ कोरन्थी १२:१२; हिब्रू २:२-४) । 


तर के आजका विश्वासीहरूलाई पनि यस्तो चिन्हहरू दिइएको छ र? नेपालका प्रायजसो धेरै विश्वासी जनहरुले छ भन्नु हुन्छ। तर, बाइबल र इतिहासलाई केलाएर हेर्दा ठीक विपरीत कुरा भेटिन्छ:


१. माथि उल्लेख गरे झै, बाइबलमा 'आश्चर्य कर्महरु वा चिन्हहरु' सन्देशबाहक वा संदेश (परमेश्वरको प्रकाश) साँचो हो भनि देखाउन दिइन्थ्यो (व्यवस्था १३:१-५; १८:२१-२२; प्रेरित २:२२; ५:१२; ; २ कोरन्थी १२:१२; हिब्रू २:२-४) । बाइबलको आन्तिम पुस्तक, आर्थात प्रकाश को पुस्तक, सन् ९५ मा लेखि सकिएको थियो, जसकारण यस पश्चात पुष्टी वा प्रमाणित गर्नु पर्ने कुनै पनि संदेशबाहक वा संदेश बाँकि थिएन । किनकी, यस पश्चात सबै संदेश वा संदेशबाहकहरु बाइबलद्वारा जाँच, परिक्षण, पुष्टी वा प्रमाणित गर्न सकिन्छ (२ तिमोथी ३:१६)।        


२. नया करारमा आश्चर्य कर्महरु वा चिन्हहरु देखाउने बरदान बिशेष गरि प्रेरितहरुलाई (२ कोरन्थी १२:१२) र उनीहरुका समयका केही व्यक्तिहरुलाई (प्रेरित ११:२८; १५: ३२; २१:१०-११) मात्र दिइएको थियो ।          


३. यी बरदानहरू समय संगै बाइबलीय इतिहासमै पनि घट्दै गएको कुरा क्रमिक बाइबल अध्यनबाट प्रष्ट देखिन्छ । जस्तै: प्रेरित १९:११, १२ (सन् ५२); १ कोरन्थी (सन् ५५); रोमी (सन् ५६) मा लेखकहरुले अद्भुद किसिमका आश्चर्य कर्महरु भएको प्रतिबेदन दिएका थिए । तर, यस पछिका पत्रहरुले यो क्रम घट्दै गएको देखाउद छ: क) याकुबले, सन् ४५-४९ तिर पत्र लेख्ने क्रममा, बिश्वासिहरु बिरामी हुदा मण्डलीका अगुवाहरु बोलाई तेलले मसाज गरि प्रार्थना गर्ने आग्रह गरे; ख) पावलले इपाफ्रोडिटसलाई निको परेनन् (फिलिपी २:२७, सन् ६०), तिमोथीलाई चंगईकर्ताको अधिनमा आफैलाई सुम्पिने सल्लाह नदिई पेटको लागि दाखमध प्रयोग गर्ने सल्लाह दिए (१ तिमोथी ५:२३, सन् ६२-६३), र त्रोफिमसलाई उनले बिरामी नै अवस्थामा मिलेतसमा छोडे (२ तिमोथी ४:२०, सन् ६६-६७); ग) प्रकाशको पुस्तकमा उल्लेखित सात मण्डलीहरुमा कुनै पनि आश्चर्य कर्महरु वा चिन्हहरुको बारेमा बताइएको छैन (प्रकाश २-३, सन् ९५) र यो मण्डलीको निम्ति ख्रिस्टको अन्तिम बचन थियो ।    


४. प्रेरितहरु पछिका आश्चर्य कर्महरु कुनैले पनि बाइबलीय मापदण्डलाई पुरा गरेको पाइदैन। 


यसकारण, आजका विश्वासीहरूलाई माथि उल्लेखित चिन्हहरू दिइएको छैन। र यी चिन्हहरू खोज्नु वा यसको लालसा गर्नु भनेको परमेश्वरलाई परीक्षा गर्नु हो। 


कतिलाई लेख पढ्दै गर्दा यो प्रश्न सोध्न मन लागेको होला: यदि ती चिन्हहरू आज हामीलाई नदिनु भाको भए कसरी हामीले प्रार्थना गर्दा भुतहरु भाग्छन् र विमारीहरु निको हुन्छन् त? 


मैले विश्वासिहरुले प्रार्थना गर्दा भुतहरु भाग्दैन वा विमारीहरु निको हुँदैन भनेको छुइन। तर यी अच्चमका कामहरू गर्ने शक्ति वा बरदान कुनै निश्चित व्यक्तिलाई मात्र दिईएको छैन। जुनसुकै प्रभुको आज्ञाकारी जनले प्रार्थना गर्दा भुतहरु भाग्छन् र विमारीहरू निको हुन्छन्। यो प्रभुले विश्वासीहरूलाई दिनुभएको अनुग्रही शक्ति हो जसद्वारा विश्वासीहरु शैतानको बन्धनबाट स्वतन्त्र रहन सक्छन्। 
यसकारण, मर्कूस १६:१७-१८ दाबी गरी बेला न कुबेला आफ्नो शक्ति प्रदर्शन गर्ने काम नगर्नुहोस्। चिन्ह देखाउन खोज्दा चिहान पुग्नु पर्ने हुन सक्छ, होसियार रहनुहोस्। प्रभुको परीक्षा नगरौं।


प्रभुको दास,
साजन श्रेष्ठ, एम. डिभ.

Comments

Popular posts from this blog

मुक्ति

बाइबलले नरकको विषयमा के बताएको छ?

गूड फ्राइडे (असल शुक्रबार)