मुक्ति
विश्वासद्वारा अनुग्रहले ख्रीष्ट येशूमा मात्र मुक्ति पाईन्छ।
लगभग आठ अर्ब जनसंख्या भएको हाम्रो विश्वमा ६८ सय भाषाहरू र ६३ सय धर्महरू छन् भन्ने अनुमान विज्ञहरुले गरेका छन्। तर, इसाई विश्वास बाहेक--जो बाइबलमा आधारित छ--अरु कुनै पनि धर्महरुले विश्वासद्वारा अनुग्रहले मुक्ति पाईन्छ भन्ने कुरा सिकाउँदैन।
अरु धर्महरूका अनुसार व्यक्तिको मुक्ति उसको काममा आधारित हुन्छ। यसकारण, यदि कसैले असल काम गर्छ भने उसले मुक्ति पाउँछ, तर गर्दैन भने पाउँदैन। तर, इसाई विश्वास अनुसार व्यक्तिको मुक्ति उसको काममा नभई उसलाई बचाउने मुक्तिदाताको काममा आधारित छ। किनकि, सबै मानिसहरू पापी छन् (रोमी ३:१०-२३)। पापले मानिसलाई अशक्त बनाएको छ र पापी मानिस आफैले आफूलाई यस अवस्थाबाट बचाउँन केही गर्न सक्दैन (एफिसी २:१-५)। उसले गरेको हरेक काम पापले गर्दा आफ्नो उदारको लागि अशुद्ध र अपूर्ण भएको छ। र अन्त्यमा उसलाई उसको पापले नरक पुर्याउँछ। यसकारण, यदि कुनै व्यक्तिले मुक्ति पाउने हो भने उसले आफ्नो काममा नभई उसलाई बचाउने मुक्तिदाता र उहाँको काममा आफ्नो विश्वास (भरोसा) राख्नुपर्छ।
तर के आफैले बचाउँन नसक्ने मानिसहरूको निम्ति बचाउँन सक्ने त्यस्तो अरु कोही मुक्तिदाता छ र? बाइबलको अनुसार छ। र त्यो एकमात्र मुक्तिदाता हुनुहुन्छ सिद्ध व्यक्ति येशू ख्रीष्ट (युहन्ना १४:६; प्रेरित ४:१२), जो आजभन्दा करिब दुई हजार वर्ष अघि यस संसारमा आउनु भयो, मानिसहरूको पापको निम्ति क्रुसमा बलि हुनुभयो, तेस्रो दिनमा जीवित भई उठ्नुभयो र चालीस दिनसम्म आफ्नो चेलाहरूसँग बसेर स्वर्ग जानुभयो (प्रेरित १:२-११; कोरन्थी १५:३-८)।
बाइबलको अनुसार मुक्ति मानिसको निम्ति परमेश्वरको एउटा अपार उपहार हो। यो उहाँले अशक्त पापी मानिसहरुलाई आफ्नो असीम अनुग्रहमा मात्र केवल विश्वासीद्वारा स्वीकार गर्न दिनुभएको छ। यसकारण, मानिसलाई असल कामले होइन तर विश्वासले मुक्ति दिन्छ। र साँचो विश्वासले असल काम उत्पन्न गराउँछ। यसैले हामी भन्छौं हामीहरू हाम्रो असल कामहरुले बचाईएकाहरु होइनौ तर असल कामहरुको निम्ति बचाईएकाहरु हौं, जुन सत्यता एफिसी २ को ८ देखि १० ले यसरी व्यक्त गर्दछ:
"किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो— कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ। किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।"
असल काम = मुक्ति (×)
विश्वास + असल काम = मुक्ति (×)
विश्वास = मुक्ति + असल काम (✓)
यस खण्ड अनुसार असल कामले गर्दा हामीले मुक्ति पाउने वा पाएका होइनौ। न त विश्वास र असल कामले गर्दा नै हो। तर, परमेश्वरले आफ्नो अनुग्रहमा हामीलाई असल कामको निम्ति मात्र केवल ख्रीष्ट येशमा विश्वासद्वारा बचाउनु भएको छ। र यो विश्वास गर्ने शक्ति पनि परमेश्वर आफैले हामीलाई दिनुहुन्छ र दिनुभएको छ (यूहन्ना ६:४४, ६५; फिलिपी १:६; हिब्रू १२:२; २ पत्रुस १:१)। यसकारण, हाम्रो मुक्ति परमेश्वरको काम हो।
निष्कर्ष: मानिसहरु पापी छन्। पापले नरक पुर्याउँछ। यसबाट बच्न मानिसहरु आफैले केहि गर्न सक्दैन। तर परमेश्वर अनुग्रही हुनुहुन्छ। उहाँले मानिसलाई आफ्नो अनुग्रहमा येशू ख्रीष्टले गर्नुभए आफ्नो जीवन र मृत्युको कामको आधारमा विश्वासद्वारा बचाउनुहुन्छ। र यसरी विश्वासको आधारमा मात्र बचाउनुको उद्देश्य असल कामहरूको निम्ति हो।
साजन श्रेष्ठ।
Comments
Post a Comment