सुसमाचार
सुसमाचार भनेको के हो?
संसार पापले भरिएको छ। मानिसहरु पापी छन्। यसको निम्ति प्रमाणहरु खोज्न कतै गइरहन् जरुरी हुन्न। पहिलो दोस्रो विश्वयुद्ध र हालै म्यानमार (बर्मा) मा भइरहेको घटनालाई नियाल्दा प्रष्ट हुन्छ: मानिस क्रुर, निर्दयी, लोभी, आतङ्ककारी, अहंकारी, अत्याचारी, दुराचारी, व्यविचारी, फटाह, र स्वार्थी छ। (रोमी ३:११-१८, २३)।
तर परमेश्वर जसले मानिसलाई बनाउनु भयो: उहाँ पवित्र (१ पत्रुस १:१५), धर्मी (२ इतिहास १२:६) र न्यायी (व्यवस्था ३२:३६) हुनुहन्छ, जसले पापलाई घृणा गर्नु हुन्छ (हबकुक १:१३क) तर पापीलाई बचाउन चाहनुहुन्छ (रोमी ५:६-८; २ कोरन्थी ५:२१)।
पाप र परमेश्वर कहिलै एक हुन् सक्दैन। पाप परमेश्वरको निम्ति यति घृणित छ कि, उहाँले यसलाई हेर्नु पनि सक्नुहुन्न (हबकुक १:१३क)। र पापी मानिस उहाँ सँग संगत गर्न सक्दैन।
पापको ज्याला मृत्यु र नरक हो (रोमी ३:२३)। जसरी मानिसको परिश्रमले पैसा कमाउँछ, त्यसरी नै उसको पापले उसलाई नरक कमाइदिन्छ, जसबाट उ उम्कन सक्दैन।
तर परमेश्वर मानिस नरक गएको चाहनु हुन्न (२ पत्रुस ३:९)। उनीहरूले दुःख भोगेको, पीडा सहेको चाहनु हुन्न। किनकी मानिस उहाँको आफ्नै स्वरूपमा सृष्टि गरिएको प्राणी हुन् (उत्पति १:२६, २७)।
परमेश्वर धर्मी हुनुहुन्छ। मानिस पापी छन्। परमेश्वरले मानिसलाई प्रेम गर्नु हुन्छ। तर, पाप र परमेश्वर कहिलै एक साथ हुन सक्दैन। कसरी अब यो समस्या समाधान गर्ने?
परमेश्वरले यो समस्या समाधान गर्न एक अद्भुत योजना रच्नु भयो। उहाँले आफ्नो एक मात्र पुत्र येशू ख्रीष्टलाई यस संसारमा मानिसहरूको पापको निम्ति बलिको रूपमा मर्न पठाउने निर्णय गर्नुभयो, जो आज भन्दा झण्डै दुई हजार वर्ष अघि यस संसारमा आउनु भयो, मानिसको पापको निम्ति क्रूसमा टाँगिनुभयो, चिहानमा गाडिनु भयो र तेस्रो दिनमा जीवित भई उठ्नुभयो (प्रेरित १:३; १ कोरन्थी १५:३-४)। उहाँ अहिले स्वर्गमा विराजमान हुनुहुन्छ (हिब्रू १:३) । र ज-जसले आफ्नो पाप स्वीकार गरी येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता हो भनी विश्वास र स्वीकार गर्छ त्यसले पापको क्षमा र नरक देखि उद्धार प्राप्त गर्छ र स्वर्गको भागीदार हुन्छ (रोमी १०:९, १०)।
यही नै हो सुसमाचार। के तपाईले यो सुसमाचारलाई स्वीकार गर्नु भएको छ? के तपाईले आफ्नो पाप स्वीकार गरेर परमेश्वरसँग क्षमा माग्नु भएको छ? के तपाई आज नै मर्नु भयो भने स्वर्ग पुग्नु हुन्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ?
हुनुहुन्न, संका लाग्छ, र सहयोगको आवश्यकता छ भने तुरुन्तै हामीलाई संदेश पठाई संपर्क गर्नुहोस। हामी तपाईलाई आवश्यक सहायता गर्ने छौ।
साजन श्रेष्ठ, एम. डिभ।
Comments
Post a Comment