पानीको बप्तिस्मा [Water Baptism]
पानीको बप्तिस्मा [Water Baptism]
पानीको बप्तिस्मा येशू ख्रीष्टले मण्डलीको निम्ति स्थापना गर्नुभएको दुई विधिहरु मध्येको पहिलो एक विधि हो। यो विधि उहाँ आफू स्वर्गारोहण हुनुअघि आफ्नो चेलाहरूलाई पालन गर्न दिनुभएको थियो:
"“स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ। यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।”" (मत्ती २८:१८-२०)।
यसकारण, अरु कुनै कारण नै नभए पनि यो उहाँको आज्ञा पालनको खातिर पानीको बप्तिस्मा लिन अनिवार्य छ। पानीको बप्तिस्मा लिनुको अर्को कारण हो यसले हामीलाई विश्वासमा बलियो र साहसी बन्न सहायता पुर्याउँछ। जब हामीले प्रभुलाई स्वीकार गरेको कुराको साक्षी मानिसहरूको सामु बप्तिस्माद्वारा दिन्छौं, तब यसले हामीलाई डर र लाज देखि स्वतन्त्र तुल्याउँछ। यति मात्र नभई, पानीको बप्तिस्माले हामीलाई हामी उहाँसँगै हाम्रो पापको खातिर मरेको, गाडिएको र नयाँ भई उठेको कुराको बोध गराउँछ, जसले हामीलाई नयाँ भाई जिउन प्रेरणा दिन्छ (रोमी ६:३-४)।
वास्तवमा, पानीको बप्तिस्मा एउटा चित्राणकित प्रवचन हो। यसले शब्दहीन सङ्केतहरुमा "मेरो विश्वास ख्रीष्ट येशूमा छ। म उहाँको हु। उहाँले मलाई मेरो पाप देखि धुनु भएको छ। र अब उसो म आफ्नै तरिकाले होइन तर उहाँमा निरन्तर पवित्र भई जिउँनेछु।" भनी बताउँछ।
यो बप्तिस्मा विश्वास गर्नेहरूको लागि मात्र हो। अर्को शब्दमा भन्नुपर्दा, यो मुक्ति पाएकाहरुको लागि मात्र हो। येशू ख्रीष्टको शब्दमा भन्नुपर्दा, यो चेलाहरूको निम्ति हो (मत्ति २८:१९)। विश्वास र त्यसपछि मात्र पानीको बप्तिस्मा: यो क्रम प्रेरितको पुस्तकमा प्रष्टसँग देख्नसकिन्छ (हेर्नुहोस्, प्रेरित २:४१; ८:१२; ८:३६-३८; ९:१८; १०:४७-४८; १८:८)।
पानीको बप्तिस्माले मानिसलाई मुक्ति दिँदैन। मुक्ति केवल ख्रीष्ट येशूले हाम्रो निम्ति गर्नुभएको काम माथिको विश्वासले मात्र दिन्छ (एफीसी २:८-१०)। तर, यसले हामीलाई आज्ञाकारी छौं भन्ने कुरा भने पक्कै देखाउँछ। साथै, पानीको बप्तिस्माले विश्वासीहरुलाई मण्डलीको सदस्यता प्राप्त गर्न सहज गराउँदछ।
डुबाउ बप्तिस्मा (Baptism by Immersion) नयाँ करारको मण्डलीको प्रचलित नमूना हो। यस तरिका अनुसार विश्वासीहरुलाई पानीमा डुबाएर बप्तिस्मा दिईन्छ। ग्रीक शब्द "बाप्तिजो" (βαπτίζω) ले--जुन शब्दबाट हाम्रो "बप्तिस्मा" भन्ने शब्द आएको छ--पनि डुबाउ बप्तिस्माको सङ्केत गर्दछ। ख्रीष्ट येशू आफैले पनि डुबाउ बप्तिस्मा लिनुभएको थियो (मत्ति ३:१३-१७)। रोमी ६ को ३ र ४ मा उल्लेखित ख्रीष्टसँगको हाम्रो मृत्यु, गडाई र उठाईलाई पनि डुबाउ बप्तिस्माले सही तरिकाले प्रतिनिधि गर्छ। यी सबै कारणहरुले गर्दा, डुबाउ बप्तिस्मा सबै मण्डलीहरूमा अभ्यास गर्नु अति उत्तम देखिन्छ।
निष्कर्ष: संक्षिप्तमा भन्नुपर्दा, पानीको बप्तिस्मा ख्रीष्ट येशूले मण्डलीको निम्ति दिनुभएको दुई मध्ये एक विधि हो। यो मुक्ति पाउन नभई आज्ञा पालन गर्न लिईन्छ। यसले विश्वासीहरुमा साहस र विश्वास थपिदिन्छ। साथै, यसले विजयी जीवन जिउन प्रेरणा दिन्छ। डुबाउ बप्तिस्मा बाइबलीय र अनुकरणीय छ। धन्यवाद!
ख्रीष्टको सेवामा,
साजन श्रेष्ठ।
के डुबाएर मात्र बप्तिस्मा दिन सकिन्छ? कि अरु पनि विधिहरू छन्, जसलाई हामीले प्रयोगमा ल्याउन सक्छौं??
ReplyDelete