विश्वासीहरुले ट्याटु खोप्न मिल्छ कि मिल्दैन?
ट्याटु [Tattoo] आजकाल फ्याशन बनेको छ। युट्युब [YouTube], फेशबूक [Facebook], ट्वीटर [Twitter], इन्स्टाग्राम [Instagram] र टिकटक [Tiktok] जस्ता सामाजिक सञ्जालहरुले यसलाई यो समयको प्रचलित प्रवृत्ति [Trend] बनाइदिएको छ। यसकारण, धेरै युवाहरू यसप्रति धेरै आकर्षित देखिन्छन्। तर, नेपाली इसाई युवा-युवतीहरु भने दोधारमा रहेको देखिन्छ।
पश्चिमेली इसाई विश्वासीहरु, आफ्नो गैर-इसाई साथीहरु वा सामाजिक सञ्जालमा सेलिब्रिटीहरुले खोपेको देख्दा उनीहरू पनि आकर्षित देखिन्छन्, तर प्राय सबै नेपाली इसाई मण्डलीहरुले खोप्नु हुन्न भन्ने शिक्षा दिएकोले खोप्ने कुरामा उनिहरु प्राय त्यति अग्रसर हुन नसकेको कुरा प्रष्ट देखिन्छ।
तर वास्तवमा के ट्याटु खोप्नु पाप हो? बाइबलको कुन खण्डले यो कुरा सिकाउँछ? के बाइबलमा यस विषयमा कुनै स्पष्ट शिक्षा दिईएको छ? नयाँ करारको कुन खण्डले यस विषयमा यस्तो शिक्षा दिएको छ? के येशू ख्रीष्ट वा प्रेरितहरुले ट्याटु खोप्ने कुराको बिरोध गर्नुभएको थियो? ट्याटु खोप्दा के बिग्रन्छ? आउनुहोस्, हामी यस सम्बन्धी सबै कौतूहलता मेटाउने इमान्दार [Honest] सान्दर्भिक [Contextual] बाइबलीय [Biblical] ईश्वरशास्त्रीय [Theological] उत्तरहरु खोजौं।
ट्याटु खोप्ने प्रचलन प्राचीन पूर्वी समाज देखि नै अभ्यासमा रही आएको पाइन्छ। बाइबलीय समयका गैर-यहूदी मानिसहरूले आफ्नो प्रियजनहरुको मृत्युमा शोक मनाउन आफ्नो कपाल खौरिने, दाह्री छाट्ने, आफ्नो शरीरमा काटेर चोट बनाउने वा विभिन्न प्रकारको आकृतिहरू बनाउने (ट्याटु खोप्ने) गर्थे। यी बाहेक त्यस समयका मानिसहरूले आफ्नो देवताहरूको आकृतिहरू वा धार्मिक चिन्हहरू आफ्नो शरीरको विभिन्न अंगहरूमा खोप्ने गर्थे। साथै, ती समयहरुमा मानिसहरू वा शासकहरूले आफ्नो दासहरु वा सेनाहरुलाई चिन्हको रूपमा हातको पाखुरा, निधार वा कानमा विशेष चिन्हहरू छापिदिने गर्थे।
यसै मूर्तिपूजक पृष्ठभूमि वा सन्दर्भलाई मध्यनजर गरेर परमेश्वरले इस्राएलीहरुलाई लेवीहरूको पुस्तकमा ती मूर्तिपूजक तरिकाहरू नपछ्याउन आज्ञा दिनुभएको कुरा प्रष्ट देखिन्छ: “‘तिमीहरूले आफ्नो कन्चटको कपाल नकाट्नू, अनि आफ्नो दाह्रीका कुना-कुना नछाँट्नू। “‘मरेका मानिसका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्नो शरीरमा कुनै किसिमको छाप नबनाउनू [वा ट्याटु नखोपनु]। म परमप्रभु हुँ। ...'" (लेवीहरु १९:२७-२८)।
यसपश्चात, शोक गर्दा शिर खौरिने, दाह्री काट्ने वा शरीरमा चोट लगाउने कार्य नगर्न पटक पटक विभिन्न खण्डहरुमा निर्देशन दिएको भएतापनि, ट्याटु खोप्ने विषयमा यशैया ४४:५ मा मात्र केही कुरा उल्लेख भएको पाउन सकिन्छ। तर यस पदमा यस्तो लेखिएको छ: "कसैले भन्नेछ, ‘म परमप्रभुको हुँ’। अर्काले आफ्नो नाउँ याकूब राख्नेछ, अझै अर्काले आफ्नो हातमा 'परमप्रभुको'’ भनी लेख्नेछ, र आफ्नो नाउँ इस्राएल राख्नेछ।"
यस पदको अनुसार इस्राएलको नाजुक अवस्था देखेर लजाउने वा खिसी गर्नेहरूले हजार वर्षको राज्यमा जब परमेश्वरले उनीहरूलाई (इस्राएललाई) पुनर्स्थापना गर्नुहुनेछ तब उनीहरूले (खिसी गर्नेहरूले) गर्वका साथ आफ्नो हातमा म "परमेश्वरको हुँ" भनी लेख्ने र याकूबको थर अपनाउने छन्।
नयाँ करारमा ट्याटु खोप्ने सम्बन्धी कुनै पनि शिक्षा वा निर्देशन दिएको पाइँदैन। तर आफ्नो शरीरलाई काट्ने, नष्ट गर्ने वा अनादर गर्ने कुरालाई भने प्रतिबन्ध लगाइएको देखिन्छ, किनकी हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो (१ कोरन्थी ३:१६-१७; ६:१९)। यसकारण, हामी इसाईहरुले जो मोशाको व्यवस्थाको अधीनमा नभई ख्रीष्ट येशूको व्यवस्थाको अधीनमा छौं (गलाति ३:२३-२५; ४:५; ५:१), यस सम्बन्धी विचार गर्दा बुद्धिमानी निर्णय लिनुपर्छ।
वास्तवमा, ट्याटु खोप्ने कुरा इसाई स्वतन्त्रता भित्र पर्दछ। ट्याटु विभिन्न प्रकारका हुन्छन्, तर यदि कोही इसाई विश्वासीले इसाई विश्वाससँग सुहाँउने हिसाबले खोप्छ भने त्यो पाप होइन। कति इसाई विश्वासीहरुले आफ्नो ट्याटुको कारण परमेश्वरको प्रेमको सम्झना आउने वा सुसमाचार सुनाउने कुरामा सहयोग पुग्ने गरेको कुरा पनि बताउँछन्। यसकारण, अर्थपूर्ण हिसाबले बनाइएको ट्याटुहरूले वास्तवमा सुसमाचार सुनाउने माध्यम वा उत्साहको स्रोत बनेर इसाईहरु सहायता गर्न सक्छ।
ट्याटु खोप्न अघि निम्न कुराहरू ध्यानमा राख्नु बुद्धिमानी देखिन्छ:
१.यसले के फाइदा हुन्छ? अथवा, यसले आफैमा वा विश्वासीहरूमा के सकारात्मक सुधार ल्याउँछ? प्रेरित पावलको यी शब्दहरूमा ध्यान दिनुहोस्: “सबै कुरा न्यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्। “सबै कुरा न्यायसङ्गत छन्”, तर सबै कुराले सुधार गर्दैनन्। (१ कोरिन्थी १०:२३)। तपाईंको ट्याटु खोप्न चाहना न्यायसंगत हुन सक्छ, तर यसले के फाइदा वा सुधार ल्याउँछ?
२. यो के को लागि गर्दै हुनुहुन्छ? आफ्नै स्वार्थ पूरा गर्न? अरूलाई देखाउन? वा परमेश्वरको महिमाको लागि? कतै यसले ईश्वर निन्दा त हुने होइन? कतै यसले कमजोर भाइलाई ठेस खुवाउने त होइन? १ कोरिन्थी १०:३१ मा पावल लेख्छन: "चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर।" के यो सँच्चै नै परमेश्वरको महिमाको लागि गर्दै हुनुहुन्छ त?
३. यदि यो कसैलाई प्रभावित पार्न गर्दै हुनुहुन्छ भने, ध्यान दिनुहोस्, १ पत्रुस ३:३-४ मा उल्लेख भएझैं हाम्रो ध्यान बाहिरी श्रृंगारमा होइन तर मित्री श्रृंगारमा हुनुपर्छ।
४. हाम्रो आत्मा/प्राण र शरीरलाई परमेश्वरले अद्भुत तरिकाले सृजिनुभएको छ। यति मात्र नभई हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो। यहाँ परमेश्वर आफै बास गर्नुहुन्छ। यसकारण, यस शरीरलाई ट्याटुले कति हदसम्म परिवर्तन गर्नु उचित हुन्छ? यो एकदम गम्भीर भई प्रार्थनाका साथ सोच्नुपर्छ।
निष्कर्ष: विश्वासीहरूले इसाई विश्वाससँग सुहाउने ट्याटु खोप्नु पाप होइन। अर्थपूर्ण तरिकाले खोपको ट्याटुले सान्त्वना वा सुसमाचार सुनाउने माध्यम प्रदान गर्नसक्छ। तर, ट्याटु खोप्नु अघि माथि उल्लेखित चार कुराहरूमा राम्रोसंग विचार गरी प्रार्थन सहित मात्र अघि बढ्नु बुद्धिमानी देखिन्छ। साथै, अरूलाई देखाउन वा अरूको देखेर, आफ्नो व्यक्तिगत स्वार्थको लागि मात्र जथाभावी शरीरलाई दुरुपयोग गर्नु वा बिगार्नु पाप हो र यो दण्डनीय हुनेछ। यसकारण, यस कुरामा गहिरिएर नसोचिकन हतारमा निर्णय नलिनुहोला। "चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर।"
नोट: कसैले ढाड देखाउन, कसैले छाती देखाउन, कसैले पिँडुला देखाउन, कसैले पाखुरा देखाउन वा कसैले विपरीत लिंगको व्यक्ति फकाउन पनि ट्याटु खोप्न गर्दछन्। तर तपाईं चाँहि यी गलत नियतहरुका साथ अघि नबढ्न होसियार हुनुहोस्। किनकी, हृदय हेर्नुहुने परमेश्वरले यस्तो सबै गलत नियतका साथ गरिने क्रियाकलापहरुलाई घृण गर्नुहुन्छ। धन्यवाद।
ख्रीष्टको सेवामा,
साजन श्रेष्ठ।
Comments
Post a Comment