क्षमा नहुने पाप? [Unpardonable Sin?]
क्षमा नहुने पाप?
के ख्रीष्ट येशूको रगत वा बलिदानले क्षमा हुन नसक्ने पाप पनि हुन्छ र? कस्तो पाप क्षमा हुनसक्दैन? के विश्वासीहरूले पनि यस्तो पाप गर्न सक्छ?
ख्रीष्ट येशूको बलिदान अति शक्तिशाली र प्रभावकारी बलिदान हो। यो बलिदान एउटा साधारण मानिसको बलिदान नभई सिद्ध ईश्वर र सिद्ध मानिसको बलिदान हो। यसकारण, यसले सबै पश्चातापी पापीहरुको सबै प्रकारको पापहरुलाई धुन वा क्षमा दिनसक्छ (हिब्रू ९:२६-२८)।
यस सत्यतालाई हामीले प्रेरित पावलको जीवनबाट पनि देख्नसक्छौं। ख्रीष्टलाई ग्रहण गर्नु अघि, उनी एक ठूलो ख्रीष्ट विरोधी थिए। उनले विश्वासीहरूलाई सताएर मण्डलीलाई ठूलो त्रासमा राखेका थिए। स्थिफनसको हत्यामा पनि उनी एक साक्षी थिए (प्रेरित ८:१-३)। तर, ख्रीष्ट येशूले यी सबैको बावजुद पनि उनलाई क्षमा दिई आफ्नो सेवक बनाउनु भएको थियो। यही महान कृपालाई स्मरण गरी उनले तिमोथीको पत्रमा ख्रीष्ट येशूलाई धन्यवाद दिएका थिए (१ तिमोथी १:१२-१७)।
तर, ख्रीष्ट येशूले आफ्नो सेवाकाईको समयमा एउटा निश्चित प्रकारको पाप भने कहिल्यै क्षमा नहुने बताउनु भएको थियो। उहाँको यस शिक्षालाई तीनै सुसमाचारीय लेखकहरूले आफ्नो पत्रहरुमा उल्लेख गरेका छन् (हेर्नुहोस्, मत्ति १२:३१-३२; मर्कूस ३:२८-२९; लुका १२:१०)। आउनुहोस् हामी यस विषयलाई नजिक बाट नियालौ।
मत्तिको अनुसार ख्रीष्ट येशूले यस्तो भन्नु भएको थियो: "म तिमीहरूलाई भन्दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन। कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्यो भने त्यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछैन।" (मत्ती १२:३१-३२)।
यस खण्ड अनुसार "पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा" नहुने कुरा प्रष्ट देखिन्छ। तर, पवित्र आत्माको विरुद्धमा निन्दा गर्नु भनेको के हो? यस प्रश्नको जवाफ हामीले यसै खण्डको सान्दर्भिक पदहरूमा पाउन सक्छौं (मत्ति १२:२२-३७ हेर्नुहोस्)।
यस खण्डमा ख्रीष्ट येशूले भूत लागेको एक अन्धो र गुँगो मानिसलाई निको पार्नु भएको थियो। तर, येशू ख्रीष्टले पवित्र आत्माको शक्तिमा गर्नुभएको यस कार्यलाई फरिसीहरूले जनी बुझी भुटहरुका मालिक बालजिबुलद्वार गरेका हुन भनी आरोप लगाएका थिए। यसै सन्दर्भमा उहाँले पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनसक्दैन भन्नु भएको थियो। यसकारण, यस खण्ड अनुसार पवित्र आत्माको निन्दा गर्नु भनेको उहाँले ख्रीष्ट येशूद्वारा गर्नुभएको आश्चर्य कामलाई जानी बुझी शैतान वा उसका दूतले गरेका हुन भनी बताउनु वा आरोप लगाउनु हो।
के यो पाप आज पनि सम्भव छ? यस खण्डलाई सन्दर्भमा हेर्ने हो भने यो पाप अहिले सम्भव छैन। किनकी यस प्रकारको पाप हुन येशू ख्रीष्टको उपस्थिति चाहिन्छ। र यदि कसैले येशू ख्रीष्टलाई फरिसिहरुले जसरी जानी बुझी पवित्र आत्माद्वारा गर्नु भएको काम शैतानको शक्तिद्वारा गरेको हुन भनी भन्छन् भने उसको पाप कहिले पनि क्षमा हुनसक्दैन। तर उहाँ शारीरिक रूपमा हामीसंग नहुनु भएकोले यस खण्डमा उल्लेखित पाप सम्भव छैन। यसकारण, यदि कुनै पनि व्यक्तिले आफ्नो पाप स्वीकार गरेर परमेश्वरसँग क्षमा माग्छ भने उसले गरेको हरेक प्रकारको पाप क्षमा हुन सक्छ र उसले मुक्ति पाउन सक्छ।
तर, यदि कोही व्यक्तिले सुसमाचार पटक पटक सुनेर पनि आफ्नो पाप स्वीकार गर्दैन वा प्रभुमा पर्कदैन भने उसले क्षमा पाउँदैन; उसको पाप क्षमा हुनसक्दैन। किनकी, मुक्तिको निम्ति यस पृथ्वीमा ख्रीष्ट येशूको बाहेक अरू कुनै नाउँ दिईएको छैन (प्रेरित ४:१२)। साथै, साँचो मुक्ति पाएको व्यक्तिले यस्तो पाप गर्न सक्दैन।
निष्कर्ष: येशू ख्रीष्टले पवित्र आत्माको शक्तिमा गर्नुभएको कामलाई जानी-जानी शैतान वा शैतानको शक्तिद्वारा गरेको हो भनी आरोप लगाउनु पवित्र आत्माको निन्दा गनु हो। यो पाप क्षमा हुनसक्दैन। आजका मानिसहरूले यो पाप गर्न सक्दैनन्, किनकी येशू ख्रीष्ट शारिरिक रुपमा उपस्थित हुनुहुन्न। तर, यदि कोही व्यक्तिले सुसमाचार धेरै पटक सुनेर, ख्रीष्टको बारेमा बुझेर पनि पवित्र आत्माको निमन्त्रणालाई स्वीकार नगरी ख्रीष्टलाई इन्कार गर्छ र यसै अवस्थामा मर्छ भने त्यस व्यक्तिले क्षमा पाउन सक्दैन र नकर जान्छ। हिब्रू ६ र १० अध्यायहरुले यही प्रकारको पापको विषयमा बताएको पाईन्छ। धन्यवाद।
ख्रीष्टको सेवामा,
साजन श्रेष्ठ।
Comments
Post a Comment