विश्वासीहरुलाई भूतप्रेत लाग्छ कि लाग्दैन?
विश्वासीहरुलाई भूतप्रेत लाग्छ कि लाग्दैन?
भूतप्रेत लाग्ने भन्नाले कुनै पनि व्यक्तिलाई दुष्टआत्माले उ भित्र प्रवेश गरेर उसको सोच, विचार वा क्रियाकलापलाई नियन्त्रण गर्ने कुरालाई जनाउँछ। बाइबलमा, विशेष गरी न विश्वासीहरुलाई भूतप्रेत लाग्छ कि लाग्दैन? याँ करारको सुसमाचारका पत्रहरुमा, भूतप्रेत/भूतआत्मा लागेको थुप्रै उदाहरणहरू पाईन्छ (हेर्नुहोस्, मत्ति ४:२४; ८:१६, २८-३९; ९:३२-३३; १२:२२; १५:२२; १७:१८; मर्कूस १:३२; ५:१-२०; ७:२६-३०; लुका ४:३३-३६; ८:३६; २२:३; यूहन्ना १०:२१; प्रेरित १६:१६-१८ आदि)।
भूतप्रेत/दुष्टआत्मा लाग्दा विविध लक्षणहरु देखा पर्न सक्छन्। कसै-कसैले असाधारण बल देखाउँनसक्छ; कसै-कसैले गोप्य वा अनौठो कुरा थाहा पाउन/प्रकट गर्नसक्छ (प्रेरित १६:१६-१८); कोही कोहीको मानसिक सन्तुलन गुम्न सक्छ (मर्कूस ५:१-२०); कोही गुँगो हुनसक्छ (मत्ति ९:३२); कोही बहिरो हुनसक्छ; कोही अन्धो हुनसक्छ (मत्ति १२:२२); कसै-कसैलाई छारेरोगको लक्षण देखा पर्नसक्छ (मत्ति १७:१४-१८); र कतिको भावनात्मक असन्तुलन हुनसक्छ। [याद गर्नुहोस्: यी लक्षणहरु दुष्ट-आत्मा बाहेक अन्य कारणहरुले पनि देखा पर्न सक्छ। यसकारण, प्रार्थना साथै मेडिकल उपचारमा पनि हामीले उचित ध्यान दिन आवश्यक हुन्छ।]
नेपालमा केही मानिसहरूले विश्वासीहरुलाई पनि यस प्रकारकले भूत/दुष्टआत्मा लाग्छ भनी विश्वास गर्ने गरेको पाईन्छ। तर, वास्तवमा विश्वासीहरूलाई भूतप्रेत लाग्दैन। अर्को शब्दमा भन्नुपर्दा, विश्वासीहरूलाई दुष्टआत्माले उनीहरू भित्र प्रवेश गरेर यसरी नियन्त्रण गर्न सक्दैन। किनकी,
१. प्रत्येक साँचो विश्वासीहरूमा पवित्र आत्मा बास गर्नुहुन्छ (रोमी ८:९-११; १ कोरन्थी ३:१६; ६:९; एफिसी १:१३-१४); र जहाँ पवित्र आत्मा बस्नुहुन्छ, त्यहाँ दुष्ट आत्मा बस्न सक्दैन (१ यूहन्ना ४:४)।
२. परमेश्वर पिता, जसले विश्वासीहरूलाई ख्रीष्ट येशूको रगतको मूल्य तिरेर, छुटकारा दिई (१ पत्रुस १:१८-१९), नयाँ बनाई (२ कोरन्थी ५:१७) आफ्नो सन्तान बनाउनु (यूहन्ना १:१२-१३) भइसकेको छ, उनीहरूलाई फेरि शैतानको वासस्थान हुन वा नियन्त्रण गर्न दिनुहुने कुरा सोच्न पनि असम्भव छ। साथै, परमेश्वरको अनुमति बिना शैतान वा उसको कुनैपनि दूतले विश्वासीहरूलाई छुन सक्दैन (अयुब १-३)!
३. नयाँ करारमा विश्वासीहरुलाई दियवलासको विरोध गर्न भनिएको छ, तर कतै पनि विश्वासीहरूले विश्वासीहरुबाट भूत निकाल्नु भनी आज्ञा दिईएको छैन (एफिसी ६:१०-१८; याकूब ४:७; १ पत्रुस ५:८-९)। किनकी, विश्वासीहरूमा भूत/दुष्टआत्मा बास गर्न सक्दैन!
तर, भूतप्रेत/दुष्ट-आत्माले विश्वासीहरूलाई बाहिरबाट भने सताउन वा पीडा दिन सक्छ। उनीहरूलाई आत्मिक रूपमा प्रहार गरी पाप गर्न लगाउन सक्छ। उदाहरणको लागि हामीले पत्रुसलाई लिन सक्छौं (मत्ति १६:२३)। यसैले, हामीहरु विश्वासमा बलियो भई शैतानको विरोध गर्न आवश्यक हुन्छ (याकूब ४:७; १ पत्रुस ५:८-९)। हाम्रो आत्मिक युद्ध वास्तविक युद्ध हो र यो युद्ध रगत वा मासुमा नभई आत्मा र आत्मिक रूपमा भएकोले हामीहरूले आत्मिक हतियारहरू धारण गर्न आवश्यक हुन्छ। यी आत्मिक हतियारहरूको विषयमा प्रेरित पावलले एफिसी ६ को १० देखि १८ मा वर्णन गर्नुभएको छ।
निष्कर्ष: भूतप्रेत लाग्नु भनेको दुष्टआत्माले कुनै पनि व्यक्तिलाई उ भित्र प्रवेश गरेर उसको सोच विचार वा क्रियाकलपहरूलाई नियन्त्रण गर्ने कुरालाई जनाउँछ। साँचो विश्वासीहरूलाई यसरी दुष्ट-आत्माले प्रवेश वा नियन्त्रण गर्न सक्दैन। तर, उनीहरूलाई बाहिरबाट प्रभावित बनाई पाप गर्न लगाउन सक्छ। हामीले विश्वासमा बलियो भई यसको विरोध गर्न र यसमाथि विजयी हुन सक्छौं! याद गर्नुहोस्: जो हामीहरुमा बास गर्नुहुन्छ, उहाँ शैतान वा उसको दूतहरु भन्दा अति नै शक्तिशाली र समर्थवान हुनुहन्छ! यसैले, नडराउनुहोस्! विश्वासमा बलियो हुनुहोस्! र, शैतानको विरोध गर्नुहोस्। धन्यवाद!
ख्रीष्टको सेवामा,
साजन श्रेष्ठ।
Comments
Post a Comment