गर्भपतन: गर्भपतन गर्नु वा गराउनु किन पाप हो?
गर्भपतन: गर्भपतन गर्नु वा गराउनु किन पाप हो?
गर्भपतन भन्नाले महिलाहरुको गर्भ भित्र रहेको भ्रूणलाई विभिन्न औषधिहरू वा उपकरणहरू प्रयोग गरी नष्ट गर्ने कार्यलाई जनाउँछ। यो कार्य आज भन्दा दुई हजार वर्ष अघि देखि नै पूर्वी समाजहरुमा अभ्यासमा आएको भएपनि, अहिले जस्तो ठूलो संख्यामा भने थिएन। अहिले, श्रीमान र श्रीमती बीच योजना बेगर गर्भमा आएको बच्चा मात्र नभई अविवाहित युवा युवतीहरु बीच शारीरिक सम्बन्ध भएर आएको भ्रुनहरु पनि ठूलो संख्यामा मारिने तथ्य स्वास्थ्य विभागहरुबाट प्राप्त गर्न सकिन्छ।
नेपालमा गर्भपतन गराउन पाउने नियम सन् २००२ बाट मात्र लागु गरिएको थियो। यस अघि गर्भपतन गराउनु कानुनी हिसाबले दण्डनीय थियो। वास्तवमा, सन् २००२ अघि, लगभग २०% महिलाहरु गर्भपतन सम्बन्धी कुराहरुले गर्दा थुनामा राखिएको थियो।
गर्भपतन गराउन पाउने नियम लागू भइसकेपछि नेपालमा लाखौं संख्यामा भ्रूण हत्या भएको कुरा स्वास्थ्य विभागहरुको तथ्याङ्कहरुबाट प्रष्ट देख्न सकिन्छ। गटमाकर इन्स्टिच्युट (Guttmacher Institute) नामक संस्थाले प्रकाशन गरेको एक तथ्याङ्क अनुसार, सन् २०१४ मा मात्र नेपालमा तीन लाख तेईस हजार ओटा (३२३०००) गर्भपतनहरु गराएको थियो! (अहिले सन् २०२१ मा त झन्, जहाँ प्रविधि र विविध शिक्षाहरूले युवा-युवतीहरुलाई जोडिन रोक्ने सबै प्रकारको अवरोधहरुलाई दूर गरी दिएको छ, अवस्था के होला?!)
बाइबलको अनुसार गर्भपतन (भ्रूणहत्या) गर्नु वा गराउनु पाप हो! किनकी, चाहे त्यो वैज्ञानिक दृष्टिकोण बाट होस या बाइबलीय, मानिसको जीवन गर्भाधारण [fertilization/gestation] बाट सुरु हुन्छ; र, कसैको जीवन लिनु वा हत्या गर्नु पाप गर्नु हो। बाइबलका विभिन्न खण्डहरु जस्तै, प्रस्थान २२:२१-२५; अयुब ३:३; यर्मिया १:५; भजनसंग्रह ५१:५; लुका १:४१-४४; र लुका २: १६ लगायत अन्य थुप्रै खण्डहरुका अनुसार गर्भमा आएको भ्रुण साधारण झिल्ली वा कोष मात्र नभई पूर्ण जीवित व्यक्ति पनि हो। यसकारण, भ्रुण हत्या गर्नु मानव हत्या गर्नु हो।
भजनसंग्रह १२७:३ मा यस्तो लेखिएको छ: "हेर, छोराहरू परमेश्वरले दिनुभएको उत्तराधिकार हुन, गर्भको फल परमेश्वरको उपहार हो।" भजनसंग्रह १३९:१४-१६ मा यस्तो लेखिएको छ: "म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु। जब अदृश्यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्वीको गहिराइमा रचिँदैथिएँ, तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईंको पुस्तकमा लेखिएको थियो। त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।" यर्मिया १:५ मा यस्तो लखिएको छ: “मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरें।”
यी सबै पदहरुका अनुसार गर्भधारण स्त्री र पुरुष बीचको यौन सम्पर्ग बाट मात्र उत्पन्न हुने कुरा नभई परमेश्वरको रचना-कार्य पनि हो भन्ने कुरा स्पष्ट हुन्छ। यसकारण, गर्भपतन गर्नु वा गराउनु भनेको परमेश्वरको रचना (मानिसको जीवनलाई) नष्ट गर्नु वा गराउनु हो, जुन कार्य परमेश्वरले घृणा गर्नुहुन्छ।
यसकारण, यदि तपाईहरू मध्ये कसैले गर्भपतन गर्ने वा गराउने कुराको विषयमा सोच्दै हुनुहुन्छ भने, पश्चाताप गर्नुहोस् र गर्भपतन गर्ने वा गराउने सोच हटाउनुहोस्। यसैगरी, अविवाहित दिदीबहिनीहरु, दुई ओटा गल्तीहरुले एउटा कुरा सही बनाउन सक्दैन [two wrongs can not make one right]। यसकारण, तपाईबाट पहिलो गल्ती भइसकेको छ भने, त्यसलाई सच्याउन दोस्रो गल्ती नगर्नुहोस्। बरु, आफ्नो पहिलो गल्ती प्रभुसँग स्वीकार गरी क्षमा माग्नुहोस् र अघि बढ्नुहोस, ताकि उहाँले तपाईलाई आशिष दिनुहुनेछ।
निष्कर्ष: मानिसको जीवन गर्भधारण बाट सुरु हुन्छ। गर्भधारण मानिसको मात्र नभई परमेश्वरको कार्य पनि हो। यसकारण, गर्भपतन गर्नु भनेको हत्या गर्नु र परमेश्वरको रचना नष्ट गर्नु हो, जुन कुरालाई परमेशवरले घृणा गर्नुहुन्छ। यसैले, गर्भपतन गर्नु वा गराउनु पाप हो। धन्यवाद!
साजन श्रेष्ठ।
Comments
Post a Comment